इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिगिँदैगएको छ । चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई ‘जोखिमपूर्ण हुनसक्ने’ भनेको छ ।
इलाम अस्पतालले केहीबेरअघि पत्रकार भेटघाट आयोजना गरी डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । अस्पतालका अनुसार डा.केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम देखिएको छ भने पिसाबमा एसियटोनको मात्रा बढेको छ ।
पत्रकार सम्मेलनमा इलाम अस्पतालका डा.अमिताभ ठाकुरले डा.केसीको उपचार र थप पहलका लागि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको पनि जनाए । ‘हामीले उहाँ (डा.केसी)लाई ग्लुकोज दिन खोजिरहेका छौं तर उहाँले मान्नुभएन,’ डा.ठाकुरले भने, ‘यो अवस्था निकै जोखिमपूर्ण हो, ग्लुकोज नदिए उहाँलाई निकै गाह«ो हुनेछ । हामीले माथिल्लो तहमा समेत यसबारे जानकारी दिइसकेका छौं ।’
डा.केसीले चिकित्सा क्षेत्र सुधारका ६ बुँदै माग राख्दै इलामकै नारायणस्थान मन्दिर परिसरमा बिहीबार साँझ आफ्नो २५औं सत्याग्रह थालेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार साँझ इलाम अस्पताल लगिएको हो । ‘अस्पताल ल्याएदेखि नै डा.केसीको अवस्था निरन्तर बिग्रिरहेको छ,’ डा.ठाकुरले भने ।
न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबिबिएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी निजहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गरियोस्। छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गरिनुपर्ने उनका माग छन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने भन्दै उनले आवश्यक पूर्वाधार, जनशक्ति र सबै कानुनी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन् । विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधानसमेत परिमार्जन गर्न उनको माग छ ।
डा.केसीले सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्न र निजी कलेजको व्यापारिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्डबिनै सिट वृद्धि गर्ने प्रयास रोक्न पनि माग राखेका छन् । उनले २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषयमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न भनेका छन् । सहमतिमा समेटिएका २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट, तोडफोडलगायत विध्वंसात्मक घटनाको छानबिन तथा दोषीमाथि कारबाहीसम्बन्धी विषयसमेत कार्यान्वयन गर्न उनको माग छ ।
डा.केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गर्न, बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य अघि बढाउन पनि माग गरेका छन् ।
प्रकाशित: १५ कार्तिक २०८३ २०:१७ आइतबार