स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रिपरिषद्को बैठकद्वारा हप्ताको दुई दिन (शनिबार र आइतबार) सरकारी बिदा दिने निर्णय गरिएको भए पनि अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालहरूमा जनशक्ति नथपिएकाले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९-५ ड्युटी बाहेक अनकलl, राउन्ड, इमर्जेन्सीलगायतका सेवा चौबिसै घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघको ठहर छ। नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र वर्कलोडका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखापर्ने सम्भावना रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने भनिएकोमा विगतमा विभिन्न कानुनी कारण देखाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बदा उपयोग गर्नबाट वन्चित गरिएको संघले जनाएको छ। 'साथै विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,' संघले भनेको छ।
इन्धन अभावका कारण हप्ताको २ दिन बिदा दिने निर्णय गरिएकोमा स्वास्थ्य संस्थाको हकमा ओपिडी समय थप बढाई इन्धनको थप अपव्यय गरिनु अत्यन्त अव्यावहारिक रहेको र मन्त्रिपरिषद्ले निर्णय गरी राजपत्रमा उल्लेख गरिएको अवस्थामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय कार्यान्वयन नहुनुले स्वास्थ्य संस्थाहरूमा थप अन्योल सिर्जना हुने हुनाले स्वास्थ्य मन्त्रालयको उक्त अनुरोध फिर्ता लिई उचित निर्णय गर्न नेपाल चिकित्सक संघ जोडदार माग गरेको छ।
'ज्यादै न्यून सेवा सुविधा दिई जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संघर्षमा उत्रिन बाध्य हुने र सो को जिम्मेवार मन्त्रालय स्वयं हुने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं,' संघका महासचिव डा. सन्जिब तिवारीले भने।
प्रकाशित: २८ चैत्र २०८२ १२:२० शनिबार