स्वास्थ्य

जलन पीडितमाथि विभेदै विभेद, उपचारमा चुनौती उत्तिकै

सन्दर्भः विश्व जलन दिवस

जल्नु आफैमा ठूलो पीडा हो । त्यसपछि पाइलैपिच्छे हुने विभेद र समस्याले जलनपीडित थपजल्ने गरेको जलन पीडितहरुले सुनाए । शुक्रबार तेस्रो जलन राष्ट्रिय दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रममा यस्तो बताएका हुन । सोही क्रममा जलन पीडित कपनकी शशीकला ओझा छ वर्षअघि गर्भवती हुँदा जलेकी थिइन । उनी आगो ताप्दा जलेकी हुन । उनको ६० प्रतिशत भाग जलेको र वीर अस्पतालमा लगातार चार महिनाको उपचारपछि निको भएकी हुन । उनी अब थप उपचारको क्रममा बिग्रेका अंगको प्लाष्टिक सर्जरी गर्ने क्रममा छन ।

जलन उपचारकै क्रममा वीर अस्पतालमै बच्चा जन्माइन । तर जलनका कारण गर्भको बच्चालाई असर पर्‍यो । बच्चा हुर्किदैं गए । तर उनको बच्चा हिंड्न सकेनन् । यो पीडाले उनलाई सधैँ दुखिरहेको छ ।  

जलन पीडितका पीडाहरु भिन्न–भिन्नै छन । अनुहार जलेपछि उनीहरुमा हुने आफैँ माथिको अस्वीकार हुन्छ नै । त्यसमा पनि परिवार, समाजले गर्ने विभेदले जिन्दगीभर जलिरहन पर्ने सिविन नेपालकी डा. जस्मिनमाले बताइन ।‘जलनका बिरामी तीन वटा चरणमा मानसिक रुपले पीडित हुन्छन जल्दा, उपचार गर्दा र पछि हुने विभेदका कारण’ उनले भनिन ।  

जलनमा परेका व्यक्तिको सामाजिक विभेदको अन्त्यको लागि उनीहरुमा रहेको आर्थिक विपन्नता, सामाजिक लान्छना, घृणा हटाएर शारीरिक तथा आर्थिक पुनर्स्थापनाको लागि समाजदेखि राज्यसम्मको प्रभावकारी भूमिका आवश्यक रहेको उनको सुझाव छ ।  

तथ्याकं अनुसार नेपालमा प्रतिवर्ष साना–ठूला गरी ५० देखि ७० हजार जना जलनमा पर्छन । तथ्याकं अनुसार सबैभन्दा बढी जलनमा पर्नेमा महिला ५८ प्रतिशत, पुरुष ४२ प्रतिशत छन । त्यसमा पनि युवा उमेरमै जलनमा पर्नेको संख्या ४० प्रतिशत छ ।  

नेपाल र नेपाल जस्ता विकासोन्मुख राष्ट्रहमा जलनको घटना बढी हुने गरेको चिकित्सकले औैल्याएका छन् ।

प्रकाशित: २१ कार्तिक २०८२ २१:४० शुक्रबार