बाँसको टाटी र खरको छाना हालेर ठड्याइएको छाप्रोमा जेनतेन बस्दै आएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का बुचन सदायको परिवारमा रुवावासी छ। ८ जनाको उनको परिवारमा तीन जनाको एक साताभित्र मृत्यु भएपछि उनको परिवारमा दुःखको पहाड खसेको छ।
भारतको पञ्जावमा मजदुरी गरी पठाएको पैसाबाट घरमा रहेका बृद्ध बुवा र श्रीमतीसहित पाँच सन्तानको गुजारा चलेको थियो । कात्तिक ३ गते बुचनका एक वर्षीय छोरा सञ्जीव बिरामी परे । उनलाई पखाला चल्यो । निको भैहाल्छ भन्दै घरमै राखे । पछि सिकिस्त हुँदै गएपछि रकम जोरजाम गरेर राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगियो । त्यहाँ पुग्दासम्म उनी थलिसकेका थिए । चिकित्सकले कत्तिक ६ गते बाहिर लग्नुस् भनेपछि आमा पार्वत्ती छोरालाई लिएर लहानतर्फ आउँदै थिइन् । बाटोमै सञ्जीवले प्राण त्यागे ।
सञ्जीवको मृत्युको पीडामा रहेकी पार्वतीले घरका थप दुई सदस्य छेरी र ससुरा पखाला चलेर सिकिस्त भएको खबर पाइन् । छोराको दाहसंस्कार गरेर पार्वती छोरी र ससुराको स्याहारमा लागिन् । छोराकै उपचारमा भएजति रकम खर्च भैसकेकाले पार्वती छोरी र ससुरालाई थप उपचारका लागि अस्पताल लग्ने आँट जुटाउन सकिनन् । कात्तिक ११ गत्ते ६६ वर्षीय ससुरा लक्ष्मण र गत्त शुक्रबार (कात्तिक १४ गते) ४ वर्षीया छोरी राघिनीलाई गुमाउन पुगिन पार्वती ।
छोरा बिरामी हुँदा बुचन रोजगारीका लागि भारतको पञ्वमै थिए । छोराको मृत्यु भएको खबरपछि उनी घर फर्किए । एक सातामा परिवारका तीन सदस्य गुमाउन पुगेका बुचन भन्छन्,‘ मेरो परिवारै उजाडियो । भरपर्दो उपचार अभावमा मैले बृद्ध बुवा र छोराछोरी गुमाउनुपरेको छ । हामीजस्ता विपन्नले सामान्य बिरामी हुँदा पनि मर्नैपर्ने हो ? सरकारले गरिबको उपचार निःशुल्क गरेको सुनेको थिएँ, सब झुठ रहेछ।’
बुचनकी श्रीमती पार्वती पनि झाडापखालाबाट थलिएकि छिन् । उनी आफ्नो माइती सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरमा बसेर उपचार गराइरहेकी छिन् ।
६ वर्षीया छोरी राधिका, ८ वर्षीय छोरा रञ्जीत र ३ वर्षीया छोरी रितिकासहित बुचन घरमा छन् । राधिका पनि झाडापखालाले थलिएर उपचारमा छिन् । यो परिवारमा शोकसँगै त्रास छ ।
बुचनको घर नजीकै स्वास्थ्य चौकी छ । तर, उनको परिवारका तीन जनाले ज्यान गुमाइसकेको सूचना सामाजिक सञ्जालबाट थाहा पाएका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु । नजिकै गाउँपालिकाको कार्यालय पनि छ । जसमा स्वास्थ्य शाखा पनि छ । त्यही स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र यादव भन्छन्,‘एकै परिवारका तीन जना झाडापाखालाबाट ज्यान गुमाएको खबर हामीले सामाजिक सञ्जालबाट जानकारी पायौं ।’
‘मुसहर समूदायका उनीहरुमा जनचेतनाको अभाव छ, सुरुमै उपचारका लागि अस्पताल पुर्याएको भए यस्तो दुःखान्त घटना हुँदैन्थ्यो, उनको जिकिर छ । नजीकै रहेको स्वास्थ्य चौकीमा जानुपथ्र्यो तर गएनन् उनले भने,‘औषधि पसलबाट उपचार गराए, सिकिस्त भएपछि अस्पताल पुगे ।’ गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार नगरी बाहिर लैजान भनेको भन्ने उहाँहरुको भनाई छ उनले भने,‘संघीय अस्पतालमा झाडापाखालाको उपचार नहुने भन्ने हुँदैन । तर, उहाँहरुले के कति कारणले यसो भनिरह्नु भएको छ, बुझ्दै छौं, उनले भने ।’
५० घरधुरी रहेको यस मुसहर बस्तीका १६ जनामा झाडापाखाला देखिएको छ । जसमध्ये ९ जनाको नमूना परीक्षणका लागि पठाएको यादवले भने । परीक्षण प्रदिवेदन आइसकेपछि मात्र हैंजा हो कि समान्य झाडापाखाला भन्ने यकीन हुने उनले बताए ।
अहिले यस बस्तीमा जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको यादवले बताए । १६ मध्ये ७ जना लगभग निको भैसकेको र ९ जना बिरामी रहेको उनले भने ।
५० घरधुरी रहेको यस बस्तीका एक सयभन्दा बढीले प्रयोग गर्ने एक मात्र चापाकल छ । उनीहरु दैनिक घरधन्दा यसै चापाकलबाट गर्दै आएका छन् ।
बुचनका परिवारसहित टोलका शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, छोरीहरू ३ वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदा लगायत १६ जना झाडापखालाले प्रभावित छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले झाडापखालाका बिरामीलाई ‘रेफर’ गरेको विषयमा जानकारी नरहेको बताए । ‘त्यस्ता बिरामीलाई रेफर नगर्नुपर्ने हो, त्यस विषयमा थप बुझ्दैछु,’ उनले भने ।
स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खड्गाले गाउँपालिकाले आफूहरूलाई शनिबार दिउँसो मात्रै जानकारी गराएको बताए । ‘त्यो केसमा त्यहाँबाट भए गरेका कार्यको रिपोर्ट भने दिएको छैन,’ उनले भने, ‘रिपोर्ट आइसकेपछि हामीले त्यहीअनुसार सहयोग र सहकार्य गर्छौं ।’
प्रकाशित: १६ कार्तिक २०८२ १६:०० आइतबार