स्वास्थ्य

नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो

१० मध्ये ७ जनाको मृत्यु नसर्ने रोगबाट

नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रूपमा अगाडि बढ्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार हाल नेपालमा दसमध्ये सात जनाको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ।

नेपालमा हाल कुल मृत्युको झन्डै ७१ प्रतिशत कारण नसर्ने रोगहरू बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वास जस्ता रोगहरू यसका प्रमुख कारक हुन्।

तथ्याङ्कअनुसार सन् १९९० मा नसर्ने रोगका कारण हुने मृत्युदर ३० प्रतिशतमा सीमित थियो। यो प्रतिशत बढेर सन् २०१० सम्म पुग्दा ५१ पुगेको थियो। सन् २०२० सम्म पुग्दा ७१ प्रतिशतमा बढेको हो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा नेपालमा मृत्युको प्रमुख कारक नसर्ने रोग हुने प्रक्षेपण छ। यही अनुपातमा अगाडि बढे सन् २०४० सम्म पुग्दा ७९ प्रतिशतमा उकालो लाग्ने प्रक्षेपण छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाले सोमबार नगरपालिकामा समुदायमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना कार्यक्रम २०८३ मा चिकित्सकहरूले समयमै जीवनशैलीमा सुधार नगरेमा विश्व स्वास्थ्य सङ्गठन (डव्लूएचओ) को प्रक्षेपण अनुसार सन् २०४० सम्ममा यो दर ७९ प्रतिशतसम्म पुग्न सक्ने अनुमान रहेको जानकारी गराए।

चाँगुनारायण नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा अर्जुन कार्कीले नसर्ने रोगहरूको प्रकोप बढ्नुको प्रमुख कारणहरू खानपानमा गडबडी, धेरै नुन, चिनी र अस्वस्थकर (प्याकेट) खानाको प्रयोग आदि रहेको बताए।

शारीरिक निष्क्रियता, सहरीकरण र प्रविधिको बढ्दो प्रयोगले शारीरिक व्यायाम वा श्रम कम हुनु पनि यसको कारकका रूपमा रहेको उनको भनाइ छ। चुरोट तथा मद्यपानको सेवन, सुर्तीजन्य पदार्थ र अत्यधिक मदिरापान, तनावपूर्ण जीवनशैली, मानसिक तनाव र निद्राको कमी आदि पनि यसका कारक रहेको उनले बताए।

नियमित स्वास्थ्य परीक्षण, रक्तचाप, सुगर, र कोलेस्ट्रोलको नियमित जाँच गराउने, स्वस्थ जीवनशैली, दैनिक ३० मिनेट शारीरिक व्यायाम गर्ने र ताजा तथा सन्तुलित आहार (फलफूल र सागसब्जी) खाने यसबाट बच्ने उपाय रहेको उनको भनाई छ। साथै, आचरणमा सुधार, सुर्ती र मदिराजन्य पदार्थको सेवन पूर्ण रूपमा बन्द गर्न उनले सुझाएँ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको ‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहु क्षेत्रीय कार्य योजना (२०७८–२०८२) अनुसार करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्षको उमेर बिचमै अकाल मृत्युको जोखिममा छन्।

पछिल्लो समय अधिकांश घरपरिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन्। नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोगसम्बन्धी राष्ट्रिय मृत्यु–दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती रहेको बताइएको छ।

कार्यक्रममा आयोजक चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले यसैका लागि नगरपालिकाले स्क्रिनिङको कार्य थालेको जानकारी गराए। उनले समुदाय स्तरमा बढ्दो नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको रोकथाम तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका सुदृढ गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी गराए।

समयमै पहिचान र उपचार गर्न सके जटिलता कम गर्न सकिने चिकित्सकहरूले बताएका छन्। कार्यक्रममा मानसिक स्वास्थ्यबारे पनि विशेष चर्चा गरिएको थियो।

डिप्रेसन, चिन्ता तथा अन्य मानसिक समस्याहरू बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै लामो समयसम्म निराशा, अत्यधिक चिन्ता, निद्रा र भोकमा परिवर्तन, थकान तथा दैनिक कामकाजमा रुचि घटेमा स्वास्थ्य संस्थामा परामर्श लिन सुझाव दिइएको छ।

नसर्ने रोग र मानसिक स्वास्थ्यबिच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै दीर्घ रोग भएका व्यक्तिमा मानसिक समस्या देखिन सक्ने तथा मानसिक तनावले रोग व्यवस्थापनलाई थप जटिल बनाउन सक्ने जानकारी कार्यक्रममा दिइयो।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा जनचेतना फैलाउने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने, उच्च जोखिममा रहेका व्यक्तिको प्रारम्भिक पहिचान गरी स्वास्थ्य संस्थामा सिफारिस गर्ने, औषधि सेवनको निरन्तरता सुनिश्चित गराउने तथा समुदाय र स्वास्थ्य संस्थाबिच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री मनमोहन भटराई रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, ब्रनडेथ प्रचारप्रसार समितिका अध्यक्ष सोमबहादुर थापा, चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिलकुमार दुवालले यसका लागि सिङ्गो समाज सचेत रहनुपर्नेमा जोड दिए।

प्रकाशित: १६ असार २०८३ १७:२३ मंगलबार