खोटाङको साकेला गाउँपालिका–१ स्थित विकट सेखुवामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालनमा आएको छ। गाउँपालिकाकै सबैभन्दा विकट भूगोलमा पर्ने सेखुवाबासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले स्थापना गरिएको एकाइको सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले उद्घाटन गरे।
एकाइ सञ्चालनमा आएपछि सेखुवा, साविक वडा नं. १ र २ तथा आसपासका नागरिकले सामान्य रोगको प्राथमिक उपचार र स्वास्थ्य परामर्श गाउँमै पाउने भएका छन्। यसअघि सामान्य उपचारका लागि समेत गाउँपालिका केन्द्र मानेभञ्ज्याङ वा छिमेकी पालिकाका स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता थियो।
अध्यक्ष राईले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने भन्दै आवश्यकताका आधारमा स्वास्थ्य सेवा विस्तार गरिएको बताए। यो साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्था हो।
स्वास्थ्य सेवा एकाइ भवन निर्माणका लागि २५ लाख रुपैयाँभन्दा बढी मूल्यको जग्गा निःशुल्क उपलब्ध गराउने स्थानीय अदमबहादुर राईलाई मरणोपरान्त र उनका छोरा दिलकुमार राईलाई कार्यक्रममा सम्मान गरिएको थियो।
प्रकाशित: ५ आश्विन २०८३ २१:२६ सोमबार



-600x400.jpg)