स्वास्थ्य

बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य अनुगमन समिति गठन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न एक विशेष अनुगमन समिति गठन गरेको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाको स्वास्थ्य सेवा प्रभावित भएपछि विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि मन्त्रालयले यो कदम चालेको हो।

मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य रहेका छन्।

समितिले आवश्यकताअनुसार अन्य विषय विज्ञहरूलाई समेत आमन्त्रण गर्न सक्नेछ।

गठित समितिले प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवाको पछिल्लो अवस्था, आवश्यक स्वास्थ्यकर्मीको परिचालन, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिमहरूको नियमित अनुगमन गर्नेछ।

अनुगमनका क्रममा पहिचान भएका समस्या र अभावलाई सम्बन्धित निकायहरूसँग तत्काल समन्वय गरी स्वास्थ्य सेवालाई निरन्तरता दिइने मन्त्रालयको सचिवालयले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८३ २१:०७ बिहीबार