स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका संघीय अस्पताल र स्वास्थ्य संस्थाहरू र विभाग तथा स्वास्थ्य संंस्थाहरुलाई एक हप्ताभित्र व्यवसायिक योजना पेश गर्न परिपत्र पठाएको छ ।
मन्त्रालयले बिहीबार सबै अस्पताल र संंस्थाहरुलाई परिपत्र पठाएको हो । आगामी दिनमा संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले परिपत्र जारी गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयले यस मन्त्रालय अन्तर्गत सबै स्वास्थ्य संस्थाहरू बिच कार्यसम्पादन सम्झौता गर्ने तयारी पनि गरेको छ ।
‘हाम्रो मुख्य उद्देश्य स्वास्थ्य संस्थाको गुणस्तर सुधार गर्नु र हरेक संस्थालाई आफ्नो लक्ष्य प्रति जिम्मेवार बनाउनु हो’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । कार्यसम्पादन सम्झौताले हरेक स्वास्थ्य संस्थाको वार्षिक कार्य योजना र त्यसको प्रगति मापन गर्न स्पष्ट मापन गर्न सहयोग पुग्नेछ’ उनले भने ।
विगतमा बजेट भाषणमा समावेश भएका कतिपय कार्यक्रमहरू लागु नभएको र कतिपय कार्यक्रम समयमै पुरा नहुँदा बजेट समेत फिर्ता जाने समस्याको बिषयमा विगतका वर्षहरूमा पटक–पटक महालेखा परीक्षकबाट गुनासो समेत आएको हुनाले मन्त्रालयले यो वर्ष सुरुमै सक्रियता देखाएको मन्त्रालयले जनाएको छ । यस अघि स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन, स्तरोन्नति सम्बन्धी निर्देशिका २०७० मा प्रस्तावित स्वास्थ्य संस्थाको लाग व्यवसायिक कार्य योजना, आवश्यक पर्ने उल्लेख थियो । तर हाल सञ्चालित सबै संघीय अस्पतालहरूलाई परिपत्र पहिलो पटक गरिएको हो ।
सरकारी निकायहरूमा कार्यसम्पादन सम्झौता अभ्यास पहिला देखिनै हुँदै आएको भएपनि स्वास्थ्य संस्थाहरूमा पहिलो पटक हो । कार्य योजना परिपत्रले भविष्यमा संघीय स्वास्थ्य संस्थाहरूलाई विशिष्टीकृत सेवा प्रदान गर्न, आफ्नो स्रोत र साधनको उपयोग गर्न,स्वास्थ्य सेवालाई सुदृढ गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २९ श्रावण २०८२ १७:५६ बिहीबार