स्वास्थ्य

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी

फाइल तस्बिर

सरकारले बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम आज पनि सञ्चालन गर्दैछ। मंगलबारदेखि सुरु भएको दुई दिने अभियान आज सम्पन्न हुनेछ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ करिब २१ लाख र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाउने लक्ष्य छ। उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन आग्रह गरे।

अभियानका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालिएको हो।

प्रकाशित: १८ कार्तिक २०८३ ०६:३९ बुधबार