स्वास्थ्य

स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान

चितवन मेडिकल कलेज (सिएमसी) को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरुकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ। 

अभियानअन्तर्गत स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क परामर्श तथा जाँचका साथै म्यामोग्राम (स्तनको एक्सरे) र ब्रेस्ट यूएसजी (स्तनको भिडियो एक्सरे) मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

हरेक वर्ष अक्टोबरलाई स्तन क्यान्सर जागरुकता महिनाका रूपमा मनाउने गरिन्छ। सिएमसी क्यान्सर इन्स्टिच्युटले महिलामा स्तन क्यान्सरसम्बन्धी सचेतना बढाउने तथा समयमै स्वास्थ्य परीक्षण गराउने वातावरण बनाउन विशेष कार्यक्रम सञ्चालन गरेको सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए। 

अभियानअन्तर्गत स्तन क्यान्सरसँग सम्बन्धित समस्याका विषयमा निःशुल्क चिकित्सकीय परामर्श उपलब्ध हुनेछ। त्यस्तै, यससँग सम्बन्धित आवश्यक जाँच गराउने व्यवस्था पनि गरिएको देवकोटाले जानकारी दिए। 

उनका अनुसार अभियानका क्रममा आवश्यक देखिएका महिलाको म्यामोग्राम र ब्रेस्ट यूएसजीमा ५० प्रतिशत छुट उपलब्ध गराइएको छ। 

स्तनमा देखिने असामान्य परिवर्तन तथा क्यान्सरको सम्भावनासम्बन्धी परीक्षणका लागि प्रयोग हुने यी जाँचमा छुटको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गर्न चाहने महिलालाई सहज भएको देवकोटाले बताए। 

सिएमसी क्यान्सर इन्स्टिच्युटले असोज १५ गतेदेखि कात्तिक १३ गतेसम्म अर्थात् अक्टोबर १ देखि ३० गतेसम्म यो विशेष अभियान सञ्चालन गर्ने जनाएको छ। 

स्तन क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले यससम्बन्धी सचेतना, समयमै परीक्षण र आवश्यक परामर्शलाई अभियानले प्राथमिकता दिएको छ। 

स्तनमा गाँठो देखिनु, आकार वा स्वरूपमा असामान्य परिवर्तन आउनु, निप्पलमा असामान्य परिवर्तन हुनुजस्ता समस्या देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिनु महत्वपूर्ण मानिन्छ। यस्ता समस्या नदेखिए पनि आफ्नो स्वास्थ्य अवस्थाअनुसार नियमित परीक्षण र चिकित्सकीय परामर्शले रोगको जोखिम पहिचान गर्न सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्।   

प्रकाशित: १९ आश्विन २०८३ १७:२५ सोमबार