स्वास्थ्य

दुई वर्षदेखि बन्द भेरी अस्पतालको ‘सिटी स्क्यान’ पुनः सुचारु

लामो समयदेखि बन्द रहेको भेरी अस्पतालको सिटी स्क्यान सेवा सोमबारबाट पुनः सुचारु भएको छ। भेरी अस्पतालले सार्वजनिक सूचनामार्फत सेवाबारे जानकारी गराएको हो।

अस्पताल प्रशासनका अनुसार विगत दुई वर्षदेखि प्राविधिक कारणले सिटी स्क्यान सेवा बन्द भएको थियो।

अबदेखि अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिस अनुसार आवश्यक सिटी स्क्यान सेवा सहज, सुरक्षित र गुणस्तरीय रूपमा भेरी अस्पतालबाट प्राप्त गर्न सक्ने प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. नवीन दर्नालले बताए।

‘सिटी स्क्यान सेवा सुरु भएपछि बिरामीहरूले अन्यत्र धाउनुपर्ने बाध्यता कम हुनेछ, समयमै रोगको पहिचान तथा उपचारमा सहजता आउने र आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ,’दर्नालले भने।

भेरी अस्पताल उपचार गर्ने संस्था मात्र नभएर जनताको विश्वासको केन्द्र रहेको उनले बताए।

‘अस्पताल परिवारको उद्देश्य प्रत्येक बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा प्रदान गर्नु हो, यही उद्देश्यलाई आत्मसात गर्दै अस्पतालले पछिल्ला दिनहरूमा सेवा विस्तार, सेवा व्यवस्थापन सुधार, आधुनिक उपकरणहरूको सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको छ,’ मेसु डा. दर्नालले भने।

आगामी दिनमा पनि सेवाग्राहीको सुझाव, विश्वास र सहकार्यलाई आत्मसात गर्दै अझ प्रभावकारी, पारदर्शी र सुशासन सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हामी प्रतिबद्ध रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १९:०० सोमबार