भाटभटेनी सुपरमार्केटले टिचिङ अस्पताल महाराजगंञ्जलाई दोस्रो भवन हस्तान्तरण गरेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको औपचारिक उद्घाटन गरेका हुन् । अस्पताल हाताभित्रै सुपरमार्केटले निर्माण गरिदिएको इएचएस (विस्तारित सेवा भवन) हस्तान्तरण गरेको हो । उक्त भवन ९ करोड ५० लाखमा निर्माण सम्पन्न भएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले बताए । भवनको साँचो उनले अस्पतालका निर्देशक डा. सुभाष आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
यो भन्दा अघि २०६८ सालमा गुरुङले यो अस्पताललाई पहिलो भवन स्वरूप अस्पतलको आकस्मिक कक्ष भवन हस्तान्तरण गरेका थिए । स्वर्गीय पिता बृष बहादुर गुरुङ र माता धनमायाको स्मृतिमा भवन निर्माण गरेका थिए । उक्त भवन भने १३ करोड रुपैंया बराबर लागतमा बनेको थियो। आवश्यक परेमा थप सहयोग गर्न सक्ने मीन गुरुङले नागरिकसँगको कुराकानीमा बताएका हुन्।
‘मेरो उद्देश्य समाज सेवा गर्नु हो, समाज सेवाको क्रममा जहाँ आवश्यक पर्छ, केही सेवा गर्छु’ उनले भने । सोही क्रममा गुरुङले टिचिङ अस्पतालमा उपचारको लागि सर्वसाधारण देशैभरीबाट आउने हुनाले उनीहरूको उपचारमा सुविधा प्रदान गर्ने उद्देश्यले दोस्रो पटक पनि सहयोग गरेको बताए । दुवै अस्पताल सहित भाटभटेनीले टिचिङमा मात्र २३ करोड ५० लाख सहयोग प्रदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले भवन निर्माणमा सहयोग गरिदिने गुरुङलाई सबै नेपाली जनताको तर्फबाट धन्यवाद दिए । सो क्रममा कतिपय मानिसहरूले सम्पत्ति कमाएर क्यासिनो जाने चलनमा गुरुङ दम्पतीले भने अस्पतालमा दान गरेर प्रशंसनीय काम गरेको बताए । ‘ कोही पैसा कमाएर क्यासिनो जान्छ, कसैले अस्पताल बनाउँछन्’ ओलीले भने ।
गुरुङको अस्पतालमा मात्र नभएर शिक्षा क्षेत्रमा समेत रहेको योगदान अतुलनीय रहेको बताए । ‘ सम्पत्ति उहाँको बढोस्,अस्पताल हाम्रो बढोस्’ उनले भने । अस्पताल बने पनि नेपाली नागरिकले बिरामी हुनै नदिने सूत्र अपनाउन अपिल गरे। ‘ निरोगी नेपाल’ अभियानको सूत्र बिरामी अस्पताल जानु भन्दा अस्पताल जानै नपर्ने गरी स्वस्थ जीवनशैली अपनाउनु रहेको उनले बताए ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका निर्देशक डा.सुभाष आचार्यले भाटभटेनी सुपरमार्केटले टिचिङ अस्पताल प्रति देखाएको माया ममता प्रति आभार व्यक्त गरे । अस्पतालमै पुगेर भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री प्रति आभार व्यक्त गरे । भवन अस्पतालको ४३ औ जन्म उत्सवको अवसरमा पनि हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
नयाँ भवनमा औषधी बिक्री कक्ष र विस्तारित सेवाहरु सञ्चालन हुने अस्पतालले जनाएको छ । चार महिना अघि नै भवन निर्माण कार्य सम्पन्न भएपनि केही महिना ढिला गरी हस्तान्तरण गरेका हुन । भवन २०७९ सालमा निर्माण सुरु भएको थियो ।
दान गर्दा आनन्द आउँछ: गुरुङ
सोमबार टिचिङ अस्पताललाई नयाँ भवन हस्तान्तरण गरेका गुरुङले समाजसेवा गर्दा आनन्दित हुने बताएका छन् । दान र समाजसेवाको शिक्षा स्वर्गीय माता र योगीबाट धन आर्जन गरी दान गर्ने शिक्षा पाएकोले यो लागु गर्दै गएको बताए । भिडियो प्रस्तुति मार्फत गुरुङले पचास वर्ष अघि एक योगीले धन कमाउने हो भने दान गर्नु पर्छ भनेको र स्वर्गीय माताबाट पनि यो शिक्षा पाएको बताए । ‘ आमा दान गरिरहनु हुन्थ्यो, योगीले पनि दान गरे आनन्द मिल्छ भनेका थिए’गुरुङको भनाइ छ । ‘ मैले राष्ट्रवाट केही पाउँला भनेर सहयोग गरेको हैन, दान गरेर जनताको मनमा बस्न सकिन्छ भन्ने लाग्छ’ उनले भने ।
समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्ति जस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेका छन्, । बुढानीलकण्ठमा बन्दै गरेको बाल अस्पताललाई करोडौँ सहयोग गरिसकेका छन् । खोटाङमा विद्यालय निर्माण, नेपाल सरकारलाई भूकम्प पछि राहत स्वरूप १ करोड, कोरोना महामारीमा संघीय सरकारलाई १ करोड र प्रत्येक प्रदेशलाई २५ लाखको दरले राहत सहयोग प्रदान गरेका थिए ।
त्यसैगरी अघिल्लो वर्ष भएको बाढीपहिरो जाँदा १ करोड ११ लाख, भूकम्प पछि सुलभ खाद्यान्न वितरण, भारतमा पशुपति मन्दिर स्थापना लगायतका सहयोगका काम गरिसकेका छन् ।हालै इट्टा भट्टामा काम गर्ने एसइई उत्र्तिण गरेकी बालिकालाई अबको एमबिबिएस सम्मको लागि छात्रवृत्ति शिक्षाको लागि सहयोग अघि बढाइसकेका छन् ।
प्रकाशित: ३० असार २०८२ १४:५१ सोमबार