भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्। आन्दोलनको पहिलो चरणअन्तर्गत उनीहरूले सोमबार हातमा कालोपट्टी बाँधेर नियमित सेवा प्रवाह गर्दै विरोध जनाएका हुन्।
आन्दोलनका क्रममा कर्मचारीहरूले करिब एक घण्टा प्रदर्शन पनि गरेका थिए। सुरुमा अस्पताल परिसरमा सबै कर्मचारीलाई भेला गरी आन्दोलनका उद्देश्यबारे जानकारी गराइएको थियो। त्यसपछि उनीहरू कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको कार्यकक्षमा पुगेर विरोध जनाउन गएका थिए। तर, आन्दोलनको जानकारी पाएपछि कार्यकारी निर्देशक बिदामा बसेको जानकारी दिइएको कर्मचारीहरूको भनाइ छ। आन्दोलनरत कर्मचारीहरूले आन्दोलकै कारण कार्यकारी निर्देशकले अर्कोलाई निमित्त दिएर बिदा लिएको दाबी गरेका छन्।
त्यसपछि कर्मचारीहरूले अस्पताल परिसरमा नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरूले आन्दोलनका क्रममा पनि बिरामीको उपचार तथा सेवा प्रवाहमा कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन्। यसअघिका आन्दोलनमा पनि सेवा प्रभावित हुन नदिएको उनीहरूको भनाइ छ।
आन्दोलनरत कर्मचारी शिवराम धुख्वाले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ स्वीकृत नहुँदा अस्पतालमा कार्यरत करिब ३७२ जना कर्मचारीको भविष्य अन्योलमा परेको बताए। यस विषयमा पटक–पटक कार्यकारी निर्देशकको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ।
कर्मचारीहरूले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश–२०७७ अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापन हुनुपर्ने माग पनि गरेका छन्। अस्पताल विकास समितिले तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ हालसम्म स्वीकृत नभएकाले कर्मचारीको स्तरवृद्धि, स्थायी सेवा तथा सेवासुविधा सुनिश्चित हुन नसकेको उनीहरूको गुनासो छ।
कर्मचारीहरूले विनियमावली स्वीकृतिमा ढिलाइ हुँदा त्यसको आडमा नियमविपरीत ज्यालादारी नियुक्ति तथा खरिद प्रक्रियामा समेत अनियमितता हुने वातावरण सिर्जना भएको आरोप लगाएका छन्।
उनीहरूका अनुसार उक्त विनियमावलीले लोक सेवा आयोग, अर्थ मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक सिफारिस प्राप्त गरिसकेको छ। अस्पताल विकास समितिले अध्ययन गरी अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीहरूको हस्ताक्षरसहित स्वीकृतिका लागि मन्त्रालयमा पठाइसकेको भए पनि हालसम्म निर्णय नभएको कर्मचारीहरूको भनाइ छ।
कर्मचारीहरूले केही व्यक्तिले व्यक्तिगत स्वार्थका कारण विनियमावली स्वीकृत हुन नदिन असत्य र भ्रामक सूचना फैलाएर अस्पतालको विकासमा अवरोध पुर्याइरहेको आरोप पनि लगाएका छन्।
आन्दोलनमा सहभागी कर्मचारी कृष्णराम बासीले क्यान्सर रोगको पहिचान र उपचारमा अग्रणी भूमिका खेल्दै आएको अस्पताललाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै कर्मचारीको भविष्य सुरक्षित गर्न तथा अस्पतालको सेवा थप प्रभावकारी बनाउन विनियमावली यथाशीघ्र स्वीकृत गर्न सरकारसँग आग्रह गरे।
उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आएपछि भक्तपुर क्यान्सर अस्पतालले विभिन्न जिल्लाबाट आउने क्यान्सरका बिरामीलाई गुणस्तरीय तथा तुलनात्मक रूपमा कम शुल्कमा उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै अस्पतालको संस्थागत सुदृढीकरण आवश्यक रहेको बताए।
प्रकाशित: ४ श्रावण २०८३ २०:५० सोमबार