स्वास्थ्य

आँखा स्वास्थ्य र अनुसन्धानका लागि तिलगंगा बिपी कोइराला अस्पतालबिच सम्झौता

तिलगंगा आँखा प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच आँखा स्वास्थ्य सेवा अनुसन्धान कार्यक्रमका लागि आपसी सम्झौता भएको छ।

बुधबार लितगंगा आँखा प्रतिष्ठानका कार्यकारी प्राडा सन्दुक रुइत र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विक्रम प्रसाद श्रेष्ठले सम्झौतमा हस्ताक्षर गरेका हुन्। प्रतिष्ठानमा उनीहरूले आयोजित एक हस्ताक्षर पत्र आदान–प्रदान कार्यक्रमका बिच हस्ताक्षर गरेका हुन्।

आपसमा शिक्षण गतिविधि, संयुक्त अनुसन्धान परियोजना, शैक्षिक कार्यक्रम, व्यावसायिक क्षमता अभिवृद्धिका लागि संस्थागत प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षार गरिएको जनाइएको छ। यस सहकार्यले दुवै संस्थाबिच शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

उक्त सम्झौतापत्र अनुसार तिलगंगा आँखा प्रतिष्ठानका प्राध्यापकहरूद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित रूपमा आँखाको विभिन्न उपविशेषज्ञता सेवा अन्तर्गत ओपिडी तथा शल्यक्रिया संचालन गर्ने छन्। साथै प्राध्यापकहरू तथा रेसिडेन्टहरुका लागि शैक्षिक कक्षा सञ्चालन गरिनेछ। आरओपी स्क्रिनिङ्ग, उपविशेषज्ञ शल्यक्रिया तथा लेजर सम्बन्धी तालिम प्रदान गरिनेछ।

दुवै प्रतिष्ठानबिच सहकार्यात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गरी संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ। यसैगरी विपीका आवसीय चिकित्सकहरूलाई उपविशेषज्ञ क्लिनिकहरूमा खटाउने व्यवस्था गरिनेछ। 

प्रतिष्ठानका प्राध्यापकहरूले बिपी प्रतिष्ठानले सञ्चालन गरिने प्राध्यापक क्षमता अभिवृद्धि तालिममा हुने, चिकित्सकीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने, पूर्व क्षेत्रका अन्य आँखा अस्पताललाई आमन्त्रण गरी सहभागी गराउने, आँखा शिविर सञ्चालन गरिने सम्झौतमा उल्लेख छ।

प्रकाशित: २ वैशाख २०८३ १७:०८ बुधबार