स्वास्थ्य

क्यान्सर जितेर सक्रिय

अहिले पनि धेरैजसोको बुझाइ छ– क्यान्सर लागिसकेपछि जीवन सकिन्छ तर समयमै क्यान्सरको पहिचान र उपचार भए नयाँ र लामो जीवन सम्भव हुन्छ भनेर काठमाडौं तारकेश्वरका ४४ वर्षीय वासुदेव लामिछानेको जीवनले पुष्टि गरेको छ। लामिछाने ३३ वर्षका थिए। उनले दुबईमा आठ वर्ष रोजगारी गरे। त्यही क्रममा दिसाबाट रगत जाने र दिसा राम्रोसँग नहुने समस्या देखियो। उनी स्वदेश फर्किए। पायल्स भएको ठानेर उनी उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पुगे।

परीक्षण गर्दा उनको मलाशयमा ट्युमर पलाएको पत्ता लाग्यो। त्यसपछि उनी भक्तपुर क्यान्सर अस्पताल पुगे। अस्पताल पुगेको एक सातामै अन्कोसर्जन डा. पुण्य खरबुजाको समूहले उनको शल्यक्रिया गर्‍यो। त्यसपछि लगातार आठ महिनासम्म किमोथेरापी र रेडियोथेरापी गरेपछि  उनको शरीरबाट क्यान्सर नष्ट भयो।

१० वर्षअघि क्यान्सर निदान हुँदा वासुदेव डरले आक्रान्त थिए। उनलाई तेस्रो चरणको क्यान्सर भएको थियो। सानै उमेरमा क्यान्सर देखिएपछि ‘बिचैमा मरिने हो कि’ भन्ने चिन्ताले उनलाई सतायो। उनलाई पृथ्वी नै अँध्यारो लाग्न थालेको थियो।

क्यान्सर जितेका वासुदेव लामिछाने र उनकाे परिवार  

तर डा. खरबुजाले उपचारसँगै दिएको भरोसाले उनमा आशाको दियो बल्यो। ‘मलाई डाक्टरले ढुक्क हुनुहोस्, निको हुन्छ भन्नुहुन्थ्यो,’ ती दिन सम्झिँदै उनले भने। उपचारका क्रममा डा. खरबुजाले उनलाई सकारात्मक सोच राख्न प्रेरित गरिरहे। ‘उपचार सुरु गर्नुअघि चिकित्सकले दिने भरोसा बिरामीका लागि निकै महत्त्वपूर्ण हुन्छ,’ डा. खरबुजाले भने, ‘मैले भेट्नेबित्तिकै उपचार सम्भव छ, ढुक्क हुनुहोस्, निको हुन्छ भनेको थिएँ।’

क्यान्सर लागेपछि परिवारको समर्पित साथले पनि उनलाई थप ऊर्जा मिल्यो। अहिले लामिछानेको जीवन सामान्य बनिसकेको छ। ‘उपचारले मात्र हुँदैन, चिकित्सकले दिने भरोसा र परिवारको साथले क्यान्सरसँग लड्न वर्षौंसम्म प्रेरणा मिल्छ,’ डा. खरबुजाले भने। निको भएका लामिछाने अहिले पर्यटन व्यवसायमा संलग्न भएर जीवनयापन गरिरहेका छन्।

यस्तै मलाशयकै क्यान्सरबाट निको हुने अर्की उदाहरण हुन् वीरगन्जकी ४२ वर्षीया हीरा थापा मगर। १८ वर्षअघि उनलाई पनि दिसाबाट रगत बग्ने समस्या भएको थियो। सुरुमा टेकुस्थित एक निजी अस्पतालमा उपचारका लागि पुगिन्। त्यहाँ उनको मलाशयमा ट्युमर पलाएको पत्ता लाग्यो। त्यसपछि थप उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुगिन्। अस्पतालका डा. सुनिलकुमार शर्माले उनको शल्यक्रिया गरे। उनले ६ साइकल किमोथेरापी लिइन्। ट्युमर मलाशयको तल्लो भागमा फैलिएका कारण मलाशय नै काटेर फाल्नुपर्‍यो। चिकित्सकले मलाशयको सट्टा हिस्टोमी जडान गरे। अहिले त्यही हिस्टोमी राखेर उनले सक्रिय जीवनयापन गरिरहेकी छन्। उनले सातामा दुई पटक हिस्टोमी फेर्नुपर्छ। नयाँ जीवन पाएकी मगर अहिले आफूजस्तै क्यान्सर भएका बिरामीलाई हिस्टोमी राख्न र सहज जीवन बिताउन परामर्श दिने काम गर्छिन्।

क्यान्सर जितेकी वीरगन्जकी ४२ वर्षीया हीरा थापा मगर

यी दुईबाहेक मलाशयको क्यान्सर जितेर सक्रिय जीवन बिताइरहेका धेरै रहेको डा. खरबुजा बताउँछन्। उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा वर्षमा औसत ८० जना मलाशय क्यान्सरका बिरामी पुग्छन्। तीमध्ये धेरैजसो दोस्रो वा तेस्रो चरणमा पुगेका हुन्छन्। उपचार गरिएका बिरामीमध्ये ६० प्रतिशतले दीर्घ जीवन पाइरहेको खरबुजाले जानकारी दिए। चिकित्सकका अनुसार अत्यधिक मात्रामा रातो मासु खाने, व्यायाम नगर्ने र फाइबरयुक्त खानेकुरा नखाने जीवनशैली अपनाउने मानिसमा यस्तो क्यान्सर हुने जोखिम बढी हुन्छ। मलाशयको क्यान्सरमध्ये धेरैजसो वंशाणुगत कारणले पनि हुने गर्छ।

चिकित्सकका अनुसार नेपालमा दिसाबाट रगत बग्ने समस्यालाई पायल्स ठानेर गलत उपचारमा पुग्दा क्यान्सर ढिला पहिचान हुने गरेको छ। दिसामा रगत जान थालेपछि सकेसम्म चाँडो विशेषज्ञ चिकित्सक वा सम्बन्धित अस्पतालमा जाँच गराए समयमै रोग पत्ता लगाउन सकिने र उपचारबाट निको हुने उनीहरू बताउँछन्। मलाशयको क्यान्सर हुँदा दिसाबाट रगत बग्ने, दिसाको आकार सानो भएर निस्कने, दिसा राम्रोसँग नहुने, थकाइ लाग्ने र भोक नलाग्ने जस्ता लक्षण देखिन सक्छन्।

प्रकाशित: ५ भाद्र २०८३ ०६:१३ शुक्रबार