राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन्।
नेपाल औषधि थोक व्यवसायी संघको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्कीले उत्पादकदेखि बिरामीसम्म औषधि समयमै, गुणस्तरीय र सुलभ मूल्यमा पुग्ने व्यवस्था मिलाउनुपर्ने बताइन्।
उनका अनुसार औषधि आपूर्ति शृंखलालाई उत्पादनदेखि उपभोक्तासम्म मात्र नभई बिरामीको हातमा पुग्दासम्म निरन्तर निगरानी गर्न आवश्यक छ। उत्पादन, भण्डारण, बजारीकरण, सप्लाई चेन, कोल्ड चेन, नियमन तथा गुणस्तर परीक्षणलाई एकीकृत रूपमा प्रभावकारी बनाउनुपर्ने उनले बताइन्।
‘एकचोटि मात्र असेस गरेर हुँदैन। त्यो औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर छ कि छैन, नियमित रूपमा पुनःमूल्यांकन गरिरहनुपर्छ,’ कार्कीले भनिन्।
उनले औषधिको गुणस्तर उत्पादनस्थलमा मात्रै परीक्षण गरेर नपुग्ने बताउँदै भण्डारण र ढुवानीदेखि बिरामीसम्म पुग्ने प्रक्रियामै गुणस्तर कायम रहे–नरहेको नियमित परीक्षण हुनुपर्नेमा जोड दिइन्।
कार्कीले औषधि थोक व्यवसायीको भूमिका उत्पादकबाट खुद्रा बिक्रेतासम्म औषधि पुर्याउनेमा मात्र सीमित हुन नहुने बताइन्।
बजारमा कुन औषधिको माग बढी छ, कुन औषधिको अभाव छ र कहाँ कति औषधि मौज्दात छ भन्ने तथ्यांक संकलन गरी उत्पादक र राज्यका सम्बन्धित निकायसम्म पुर्याउने जिम्मेवारी पनि थोक व्यवसायीले लिनुपर्ने उनको भनाइ छ।
उनले औषधि बजारमा देखिएको विरोधाभाससमेत औँल्याइन्। कतिपय फार्मेसी तथा अस्पतालमा आवश्यकताभन्दा बढी औषधि मौज्दात भएर म्याद सकिने अवस्था रहेको, अर्कोतर्फ आवश्यक औषधि नपाएर बिरामी विभिन्न ठाउँमा भौँतारिनुपर्ने अवस्था रहेको उनले बताइन्।
‘एकातिर औषधि स्टकमा थुप्रिएर म्याद सकिने अवस्था छ, अर्कोतिर बिरामीले आवश्यक औषधि नपाएर खोज्दै हिँड्नुपर्ने अवस्था छ,’ कार्कीले भनिन्।
यस्तो समस्या समाधानका लागि औषधिको माग र मौज्दातबारे वास्तविक समयमै जानकारी आदानप्रदान हुने प्रणाली आवश्यक रहेको कार्कीले बताइन्।
उनले औषधि आपूर्तिमा ‘डिमान्ड बेस्ड सप्लाई’ प्रणाली लागू गर्नुपर्नेमा जोड दिइन्। खुद्रा बिक्रेताले आवश्यकताभन्दा बढी औषधि खरिद गर्नुपर्ने अवस्थाले अनावश्यक मौज्दात बढ्ने र अन्ततः औषधि म्याद गुज्रिने जोखिम बढाउने उनको भनाइ छ।
त्यसैले कहाँ कति औषधि आवश्यक छ, कहाँ कति मौज्दात छ र कुन औषधिको माग बढिरहेको छ भन्ने तथ्यांकका आधारमा आपूर्ति व्यवस्थापन गर्नुपर्ने उनले बताइन्।
कार्कीले औषधिको आपूर्ति प्रणालीलाई उत्पादनदेखि बिरामीको हातसम्म जोड्ने डिजिटल तथा रियल टाइम प्रणाली विकास गर्न सके औषधि अभाव र अनावश्यक मौज्दात दुवै समस्या घटाउन सकिने बताइन्।
प्रकाशित: ३ आश्विन २०८३ १७:२६ शनिबार