विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि करिब ३ दशमलव ५ अर्ब मानिस मुखको कुनै न कुनै समस्याबाट प्रभावित छन्। स्वस्थ मुखले तपाईँलाई ढुक्कसँग बोल्न, हास्न, खाना खान, चपाउन, निल्न र आत्मविश्वासका साथ आफ्ना कुराहरू राख्न सहयोग गर्छ। मुख र दाँतको सरसफाईको कमीले दाँत र गिँजाको समस्या निमत्याउनुका साथै व्यक्तिव र व्यक्तिगतसम्बन्धमा नै असर पुर्याउँछ।
मुखको स्वास्थ्य सम्पूर्ण शरिरको स्वास्थ्यसँग पनि जोडिएको छ। उदाहरणका लागि यदि तपाईँको मुखमा कुनै संक्रमण छ भने रक्त प्रवाहको माध्यमबाट ब्याक्टेरियाहरू तपाईँको शरिरका अन्य भागहरूमा पनि जान सक्छन् जसले गर्दा हृदयरोग र स्ट्रोक जस्ता अन्य स्वास्थ्य समस्याहरू पनि देखिन सक्छन्।
गिँजाबाट रगत बग्ने ,गिँजा सुनिने, दाँतमा किरा लाग्ने, श्वास गन्हाउने, मुखमा घाऊखटिरा देखिने, दाँत हल्लिने आदि सबै अस्वस्थ मुखका लक्षणहरू हुन्। यद्यपी यी समस्याहरूबाट बच्ने र भइसकेका समस्या हरूलाई हटाउन नसकिने भने होईन।
नियमितरुपमा दिनको दुइपटक (राती सूत्नु भन्दा अगाडी र बिहान खाजा खाईसकेपछी) २–३ मिनेटसम्म नरम खालको टूथब्रश र फ्लोराईडयुक्त टूथपेस्ट प्रयोग गरी दाँतका सबै भागमा पुग्ने गरी दाँत माझ्ने र डेण्टल फ्लसले दुई दाँतबीचको भागमा सफा गर्ने बानी बसाल्नु नै पहिलो उपाय हो।
टूथब्रश हरेक ३/४ महिनामा बदल्ने र यदि ब्रिस्टलहरू कडा र छरिएको अवस्थामा भएमा त्यो भन्दा अघिनै बदल्नु पर्दछ। साथै जिब्रोलाई पनि टूथब्रशको पछाडीको भाग वा जिब्रो सफा गर्ने ब्रशले राम्ररी सफा गर्नुपर्छ।
चिनीयुक्त खाना, अम्लीयखाना तथा पेएपदार्थ कमखाने र खाईसकेपछि हरेक पल्ट राम्रोसँग कुल्ला गर्नु आवश्यक छ। धूम्रपान र सुर्तीजन्य पदार्थ, क्याफिन र अल्कोहलको सेवन ले पनि दाँत र मुखको स्वास्थ्यमा ठूलो असर पुर्याउँछ।
फलफूल, सागसब्जी, अनाजसहितको पौस्टिक आहारमा ध्यान दिनु अत्यन्त जरुरी छ । र साथै हरेक ६/६ महिनामा वा कुनै समस्या देखा परेमा तूरून्तै दन्त स्वास्थ्य परीक्षण गर्नुपर्छ जसले गर्दा भईरहेका र भविस्यमा हुन सक्ने स्वास्थ्य समस्याहरूलाई बेलैमा पत्ता लगाएर रोकथाम वा उपचार गरी ठूला र जटिल समस्याबाट बच्न सकिन्छ।
प्रकाशित: ६ श्रावण २०७९ १५:५३ शुक्रबार