स्वास्थ्य

क्याबिनमा को?

दीपक दाहाल, काठमाडौं पुस ७- बिरामीका लागि छुट्टयाइएको क्याबिन चिकित्सकलाई प्रयोग गर्न दिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्को निर्णयले वीर अस्पतालमा कर्मचारी र चिकित्सकबीच हानथाप भएको छ।

अस्पतालका कर्मचारी कुनै पनि हालतमा क्याबिन सञ्चालन गर्ने पक्षमा छन् भने चिकित्सक सो ठाउँ छाड्नुपरे कामै नगर्ने पक्षमा छन्।

वीर अस्पतालमा बिरामीका लागि छुट्टयाइएको क्याबिनमा बस्दै आएका चिकित्सकलाई हटाएर अस्पतालका कर्मचारीले आइतबार लगाएको ताला सोमबार खोलिदिएका छन्।

कर्मचारीले मंगलबारदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपतिको कार्यालयमा तालाबन्दी गर्ने बताएका छन्।

'ड्युटी रुम' नभएको भन्दै आइतबार राति ड्युटी नगरीकन आवासीय चिकित्सक हिँडेका थिए। चिकित्सकले अन्य काम रोक्ने चेतावनी दिएपछि कर्मचारीले केही दिनका लागि भन्दै ताला खोलेका हुन्। न्याम्सका पदाधिकारी र कर्मचारीबीच भएको वार्तामा केही दिनभित्रै आवासीय चिकित्सकका लागि अर्को व्यवस्था गर्ने र क्याबिन पूर्ण रूपमा सञ्चालन गर्ने प्रतिबद्धतापछि ताला खोलिएको वीर अस्पताल कर्मचारी यूनियनका महासचिव दीपक मुडभरीले बताए। 'सेवा प्रभावित हुने भएकाले ताला खोलिएको हो, अन्य कुरामा पदाधिकारीसँग सहमति छैन, हामी भिसी अफिसमा ताला लगाउँछौं,' मुडभरीले भने।

केही दिनमै वैकल्पिक व्यवस्था गरेर क्याबिन बिरामीका लागि सञ्चालन नगरिएमा पुनः सो स्थानमा ताला बन्दी गर्ने कर्मचारीले बताएका छन्। बिरामीका लागि छुट्टयाइएका ती क्याबिन चिकित्सकले प्रयोग गर्दा बिरामीलाई असुविधा भएको र अस्पतालको आम्दानीसमेत कटौती भएको भन्दै कर्मचारीले चिकित्सकलाई हटाएर ताला लगाएका थिए। अपराह्न अस्पतालका चेतनशील कर्मचारीका नाममा एक समूहले आवासीय चिकित्सकलाई बाहिर निकालेर न्यू क्याबिनको मूल ढोकामा ताला लगाइदिएपछि चिकित्सक आफ्ना सामान बोकेर हतारहतार बाहिरिएका थिए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअर्न्तगत उपकुलपतिको अध्यक्षतामा रहेको कार्यकारी परिषद्ले १० वटा क्याबिन कक्ष आवासीय चिकित्सकको प्रयोगका लागि दिने निर्णय गरेको थियो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आवासीय विद्यार्थी संघ (र्‍यान) का प्रवक्ता अरबिन्द जोशीले अस्पतालमा रात्रीकालीन ड्युटीमा बस्ने चिकित्सक तथा कर्मचारीलाई आराम गर्ने ठाउँ नभएको भन्दै सो ठाउँ छाड्नपरे सेवा नदिने बताए। 'बिरामीका कुरुवा जसरी करिडोरमा सुतेर ड्युटी गर्न सक्दैनौँ' जोशीले भने।

वीर अस्पतालअर्न्तगत झन्डै दुई वर्षअघि निर्माण भएको सो क्याबिन रकम तिर्नसक्ने र अन्य बेड नपाएका बिरामीले प्रयोग गर्ने गरेका थिए। क्याबिनमा प्रयोग गर्ने बिरामीका आफन्तले अस्पतालबाट हुने अप्रेसन, सबै प्रकारका परीक्षणको शुल्कबाहेक क्याबिन भाडा मात्रै दैनिक ६ सय ६० तिर्नुपर्छ। वीर अस्पतालका ५ सय ६० बेडमध्ये अधिकांश सधै भरि हुन्छन्। तीमध्ये ३ सय ४० बेड निःशुल्क छ। निःशुल्क बेड नपाउँदासम्म बाध्यताले र कतिपय सुविधाका लागि क्याबिन लिन्छन्। अस्पतालका कर्मचारी लक्ष्मण अर्यालका अनुसार क्याबिन सञ्चालन नहुँदा अस्पताललाई वार्षिक २५ लाख र क्याबिन प्रयोग गर्ने बिरामीको अन्य परीक्षण र शल्यक्रिया शुल्क लिइने भएकोले झन्डै थप एक करोड घाटा हुन्छ। 'चिकित्साशास्त्र पढ्ने विद्यार्थीबाट शुल्क चाहिँ लिने बस्ने ठाउँ नदिने, अनि बिरामीले पाउने सेवा कटौती गर्ने?' अर्यालले भने, ती कोठा कुनै हालतमा आवासीय चिकित्सकलाई प्रयोग गर्न दिदैनौँ।'

प्रतिष्ठानअर्न्तगत स्नातकोत्तर तहको एमडी/एमएसमा करिब २ सय चिकित्सक अध्ययनरत छन्। उनीहरूमध्ये दैनिक २१ जना राति ड्युटीमा बस्छन्। प्रवक्ता जोशीका अनुसार यसरी पढ्ने चिकित्सकले ट्युसन फिबाहेक मासिक २६ हजार रुपैयाँ तिर्छन्। प्रतिष्ठानले हालै मात्रै नयाँ भर्ना लिने चिकित्सकको संख्या ६० बाट बढाएर १ सय पुर्‍याएको छ। विद्यार्थीको संख्या बढाएपछि ड्युटी बस्ने चिकित्सकलाई आराम गर्ने ठाउँ दिनु सामान्य चलन हो। 'सरकारको डाक्टर उत्पादन गर्ने संस्थाको अवस्था यस्तो छ, आवासीय चिकित्सकलाई काम गर्दा राति सुत्न दिनु सामान्य चलन हो,' जोशीले भने। वीर अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले प्रतिष्ठानले आवासीयका लागि छुट्टै घर बनाउन सक्नुपर्ने बताए। उनले सो निर्णय कार्यकारी परिषद्को भएको भन्दै आफू दोषी नरहेको बताए।

आवासीयले पाँच महिनाअघि आवासीय चिकित्सकले आवास माग राखी आन्दोलन गरेपछि आवास उपलब्ध गराउने सहमतिअनुसार ती क्याबिन उपलब्ध गराइएको जनाएका छन्। 

प्रकाशित: ७ पुस २०६६ ०१:३१ मंगलबार