बिरामीका लागि छुट्याइएका ती क्याबिन चिकित्सकले प्रयोग गर्दा बिरामीलाई असुविधा भएको र अस्पतालको अम्दानी स्रोतसमेत कटौती भएको भन्दै कर्मचारीले चिकित्सकलाई हटाएका हुन्। अपराह्न अस्पतालका चेतनशील कर्मचारीका नाममा एक समूहले भित्र भएका आवासीय चिकित्सकलाई बाहिर निकालेर नयाँ क्याबिनको मूलढोकामा ताला लगाइदिएका थिए। नयाँ क्याबिन वार्डभित्रका १० वटै कोठा आवासीय चिकित्सकले प्रयोग गर्दै आएका थिए। कर्मचारी समूह ताला लगाउन आउँदा केही चिकित्सक ओपिडीमा बिरामी जाँच्दै थिए भने केही अपरेसन कक्षमा।
उनीहरु अपरान्ह आकस्मिक रुपमा हतारहतार किताब लगायत अन्य दैनिक प्रयोग गर्ने सामाग्री राखेर झोला सहित बाहिरिदै गरेका देख्दा विरामीका कुरुवा एवं अन्य कर्मचारी रमिते बनेर हेरिरहेका थिए। अपरेसन कक्षमा भएकाहरुले सामान निकाल्न समेत पाएनन्। अस्पतालको आयस्रोत बृद्धि र विरामीको सुविधाका लागि तयार पारिएको क्याबिन आवासिय चिकित्सकलाई प्रयोग गर्न दिने प्रतिष्ठानको कार्यकारी परिषद्को निर्णय फिर्ता र क्याबिन पूर्ण रुपमा सञ्चालन हुनुपर्ने वीर अस्पताल कर्मचारी यूनियनका महासचिव दिपक मुडभरीले बताए। 'चिकित्सकका लागि अर्को प्रबन्ध र क्याबिन पूर्ण सञ्चालन नभएसम्म ताला खोलिन्न' उनले भने। उनीहरुले आन्दोलनको कार्यक्रम बढाउँदै लैजान बताएका छन्।
अपरेसन सकेर निस्किदा कोठामा ताला लगाएको पाएपछि कतिपय अपरेसन पोशाकमा नै पदाधिकारीको कोठामा गुनासो गर्न पुगेका थिए। 'पूर्व जानकारी विना हटाइयो, मेरो त मनी ब्याग समेत भित्रै छ, भोक लाग्दा खाजा खाने पैसा समेत छैन।' एक चिकित्सहरुले भने।
आवासिय चिकित्सकहरुले कर्मचारीको शैलीले आफूहरुको अपमानित भएको भन्दै कर्मचारीलाई कारवाहीको माग गरेका छन्। न्याम्स आवासिय चिकित्सहरुका संगठनका प्रवक्ता अरविन्द जोशीले अपमानित ढंगले चिकित्सकहरुलाई हटाउने कार्यमा संलग्न कर्मचारीलाई कारवाही हुनुपर्ने बताए।' बस्ने ठाउँ नदिएसम्म अस्पतालमा आउने विरामीका कुरुवा जसरी करिडोरमा सुतेर ड्युटी गर्न सक्दैनौ।' जोशीले भने। अस्पतालले प्रदान गर्ने परीक्षण, अपरेसन लगायतका अधिकांश सेवा बरिष्ठ चिकित्सकको निगरानीमा आवासियले गर्दै आएका छन्।
प्रतिष्ठान अर्न्तगत स्नातकोत्तर तहको एमडी/एमएस झण्डैमा झण्डै दुई सय चिकित्सक अध्ययनरत छन्। उनीहरु मध्ये दैनिक २१ जना राती ड्युटीमा बस्छन्। प्रवक्ता जोशीका अनुसार यसरी पढ्ने चिकित्सकले ट्युसन फि बाहेक मासिक २६ हजारको हाराहारीमा तिर्ने गर्छन्। 'सरकारको डक्टर उत्पादन गर्ने संस्थाको अवस्था यस्तो छ, आवासिय चिकित्सकलाई बस्ने सुविधा समेत नदिएर यति धेरै शूल्क लिइन्छ।' जोशीले भने। प्रतिष्ठानले हालै मात्रै नयाँ भर्ना लिने चिकित्सकको संख्या ६० वाट बढाएर एक सय पुर्याएको छ। वीर अस्पतालका निर्देशक डा.दीर्घराज आरसीले प्रतिष्ठानले आवासीयका लागि छुट्टै घर बनाउनसक्नु पर्ने बताए। उनले सो निर्णय कार्यकारी परिषद्को भएको भन्दै आफू दोसी नरहेको बताए। प्रतिष्ठानका उपकूलपति डा.सिपी मास्केले छुट्टै घर बनाउँन नसकेको अवस्थामा क्याबिन प्रयोगको लागि दिएको र पछिल्लो समस्य हलगर्न वार्ता भएरहेको बताए।
वीरअस्पताल अर्न्तगत झण्डै दुई वर्षअघि निर्माण भएको सो क्याबिन रकम तिर्न सक्ने र अन्य बेड नपाएका विरामीले प्रयोग गर्ने गरेका थिए। क्याबिनम प्रयोग गर्ने विरामीका आफन्तले अस्पतालबाट हुने अप्रेसन, सबै प्रकारका परीक्षणको शूल्क र क्याबिन भाडा मात्रै दैनिक ६ सय ६० तिर्नुपर्छ। वीर अस्पतालमा कूल ५ सय ६० बेड मध्ये अधिकांश सधै भरि हुन्छन्। ती मध्ये ३ सय ४० निशुल्क छ। निशुल्क बेड नपाउँदासम्म बाध्यताले र कतिपय सुविधा लागि पनि क्याबिन लिन्छन्। अस्पतालका कर्मचार लक्ष्मण अर्यालका अनुसार क्याबिन सञ्चालन नहुँदा बार्षिक २५ लाख र क्याबिन प्रयोग गर्ने विरामीको अन्य परीक्षण र शल्याक्रिया शूल्क पनि लिइने भएकोले विभिन्न परीक्षण वापत झण्डै थप एक करोड घाटा लाग्ने अर्का कर्मचारी लक्ष्मण अर्यालले बताए।'चिकित्सा सेवा पढ्ने विद्यार्थीबाट शूल्क पनि लिने बस्ने ठाउँ पनि नदिने अति बिरामीले पाउँने सेव कटौती गर्ने?' अर्यालले भने, ती कोठा कुनै हालतमा आवासिय चिकित्सकलाई प्रयोग गर्न दिदैनौ।'
ताला लगाए लगतै कर्मचारीको एक समूह गएर उपकूलपति डा.सिपि मास्केलाई मागबारे जानकारी गएका थिए। आवासियहरुले पाँच महिनाअघि आवासिय चिकित्सकहरुले आवासको माग राखि आन्दोलन गरेपछि आवास उपलब्ध गराउँने सहमति अनुसार नै ती क्याबिन उपलब्ध गराइएको जनाएका छन्। परिषद्मा प्रतिष्ठानका उपकूलपति रेक्टर, रजिस्टार, डिन र निर्देशक रहन्छन्
आवासिय चिकित्सकहरुले भने सो ठाउँ बाहेक अन्य स्थान मान्य नहुने बताएका छन्। उनले अस्पतालका पदाधिकारीले आन्दोलनरत कर्मचारीसँग आइतबारनै आवासिया चिकित्सकलाई अन्त्यै सार्ने मौखिक सहमति भएको भन्दै अपत्ति समेत जनाए। 'हामीले आन्दोलन गर्दा दिने, अर्काले गर्दा खोस्ने दबाबको भरमा निर्णय फेर्ने पदाधिकारीको कुनै अडान देखिन्न' उनले भने।
प्रकाशित: ५ पुस २०६६ २२:५९ आइतबार