पाँच वर्षअघि नै वीरमा भएको प्रत्यरोपण प्रयास असफल भएपछि उत्कृष्ट सेवा दिँदा पनि पुरानो असफलताले वीरमा प्रत्यारोपणको आकर्षण कम गराएको अस्पतालका सम्बन्धीत विज्ञहरुले बताएका छन्। विस २०६१ मा वीर अस्पतालमा डा.अशोक राणा र अर्जनदेव भट्टको टोलीले गरेको प्रयास असफल भएको थियो। वेलायतको न्यू क्यासलस्थित फ्रिम्यान हस्पिटलमा ६ वर्षभन्दा बढी समयसम्म मानव अंग प्रत्यरोपण गरेर नेपाल फर्किएका डा.पुकारचन्द्र श्रेष्ठलगायत अनुभवी चिकित्सकहरु डा.विजयराज शर्मा र पारसमणी श्रेष्ठको टोलीले तुलनात्मक रुपमा विश्वकै आधुनिक मानिएरका प्रविधि र औषधी प्रयोग गरेर प्रत्यरोपण गर्ने गरेको छन्। एक वर्षको अवधिमा प्रत्यरोपण गरिएका १६ देखि ६६ वर्षसम्मका सबै पुरुष छन्।
अघिल्लो वर्ष मंसिर २७ गते वीरमा पहिलो सफल प्रत्यरोपण भएको थियो। एक वर्षको अवधीमा गरिएका सबै प्रत्यरोपणमा सफलता मिलेको छ। 'संख्यात्मक रुपमा यो थोरै हो,गुणात्मक रुपमा अन्य रोग भएका विरामीको पनि सफल परीक्षण गरेका छौ।' चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका मृगौला प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठले नागरिकसँग भने, 'यति सस्तो रुपमा यति गुणस्तरीय रुपमा मृगौलाको प्रत्यरोपण संसारमै अन्य ठाउँमा छैन्।' वीर अस्पतालले पाँच वर्षअघि गरेको पहिलो प्रयास नै असफाल भएपछि चिकित्सक र विरामीमा एक प्रकारको त्रास रहेको समयमा शिक्षण अस्पतालले प्रत्यारोपण सुरु गरेको थियो। शिक्षण अस्पतालले पहिलो पटक प्रत्यरोपणमा सफलत पाएको हो। चिकित्सकहरुका अनुसार स्वभाविक रुपमा यसका कारण आकर्षण भएपनि सेवाको हिसाबले वीरले दिने सेवामा कुनै कम्जोरी नदेखिएको विज्ञहरु बताउँछन्। २०६५ साउन २४ गते नेपालमा नै पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरेको थियो।
श्रेष्ठका अनुसार विश्वमै कठिन मानिने मुटु रोगी, डाइवेटिज र दमका समस्या भएकाहरुमा पनि यसबीचमा सफल प्रत्यरोपण भएको छ। 'गुमेको साख फर्काउन समस्या परेको जस्तो देखिएपनि हामीले दिदै आएको सेवा विश्वस्तरका विकसित मुलुको स्तरको भएकोले सफल सेवाले यसलाई पुर्नप्रप्ति गराउँनेछ।' डा.श्रेष्ठले भने। सामान्यतयः धेरै स्थानमा पहिला मृगौला दाताको अपरेसन गरि निकालिएको मृर्गौलालाई संरक्षणमा राखेर प्राप्तकर्ताको अपरेसन गरेर प्रत्यारोपण गरिन्छ। विकसित मुलुकमा दुवैको एकैपटक शल्याक्रिया हुन्छ। 'दाताको शल्याक्रियापछि प्राप्तकर्ताको गर्दा धेरै समय किड्नी बाहिर राख्नुपर्छ एकपटक गर्दा बाहिर धेरै समय राख्नुपर्दैन ' श्रेष्ठले भने 'जति छिट्टो प्रत्यारोपण गर्यो उति सफलताको संभावना रहन्छ, मृर्गौला पनि कम खराब हुन्छ।'। नेपालमा वीरमा मात्रै यस्तोगरी प्रत्यारोपण गरिन्छ। वीरमा अपरेसन चार्ज, आइसियू सबै प्रकारका परीक्षणगरी पूर्ण प्याकेजको १ लाख रुपैँया र अन्य औषधी लगायतका खर्चको अढाई लाखगरि कूल साढे तीनलाखमा सबै प्रत्यरोपण हुन्छ। अस्पालले यही शूल्कमा दुई साताभित्र प्रति गोटा ६० हजार पर्ने दुईवटा सुईको समेत दिन्छ।
शिक्षण अस्पतालमा कम्तिमा चार महिनाको लागि पालो छैन्। अस्पतालले प्रत्यारोपण सुरू गरेको एक वर्षमा १ सय भन्दा बढी जोडी (दाता र ग्रहणकर्ता)ले प्रत्यारोपणका लागि नाम लेखाईसकेका छन्। तर वीरमा पाँच जोडी मात्रै पालो पखाईमा छन्। 'केही उपकरण थप गर्ने हो मात्रै पनि माग आएमा सातामा दुई वटा प्रत्यरोपण वीरमा गर्न सकिन्छ।' वीर अस्पतालकी नेफ्रोलोजिस्ट डा.रजनी हाडाले भनिन्, 'अहिले चाप पनि कम छ, सरकारले पनि सामान्य सेवा विस्तारको प्रयास पनि गरेको छैन्।'
वीरले सफल प्रत्यरोपण गरेको करिव चार महिना अगावै शिक्षण अस्पतालमा पहिलोपटक सफल प्रत्यरोपण भएको थियो। अहिले शिक्षण अस्पातालले सातामा दुई जनामा मृगौला प्रत्यरोपण गर्छ भने, वीरले दुई सातामा एक जनामा प्रत्यरोण गर्ने गरेको छ। अस्पतालमा मृगौला प्रत्यारोपणका लागि अपरेसन कक्षा छैन्। कहिले नाक,कान,घाँटी त, कहिले न्यूरो सम्बन्धी अपरेसन कक्षको प्रयोग गर्ने ,घाँटी त, कहिले न्यूरो सम्बन्धी अपरेसन कक्षको प्रयोग गर्ने गरेको छ। नेपालमा प्रत्यरोपण सुरू नहुँदा भारतमा १५ देखि २० लाख खर्च लाग्ने गर्थ्यो। अहिले पनि मृगौला दिने र लिनेबीच म्याच गराउन गरिने 'टिस्यू टाइपिङ्ग' र रगतमा औषधीको मात्रा जाच्न भारत लैजानुपर्ने बाध्यता छ। चिकित्सकहरुका अनुसार करिव डेढ करोडमा अत्यधुनिक ल्याब बनाउन सकिन्छ। यसबाट ठूलो मात्रामा खर्च कम गर्न सकिने चिकित्सकको भनाई छ। टिस्युटाइपिङ्गका लागि मात्रै साताको समय र करिव ५३ हजार खर्च लाग्छ।
शिक्षण अस्पतालले एकवर्षको अवधिमा मात्रै ३६ जनामा मिर्गौला प्रत्यारोपण गरेको थिया । सो क्रममा २ जनाको मृत्यु भएको र अन्य विरामी र दाता सबै सकुसल रहेको अस्पतालले जनाएको छ। एक जनाको प्रत्यारोपणसँग असम्बन्धी मस्तीस्कमा रक्तचाप भएर र अर्को अनियमित औषधी सेवनका कारण मृत्यु भएको नेफोलोजी विभागले जनाएको छ।
वीरमा जम्मा पाँच जना मात्रै विरामी पालोको पर्खाईमा छन्। 'हाम्रोमा विरामीको चाप कम छ, अहिलेकै उपकरण र जनशक्तिमा केही सुधार गरेर विरामी आएमा हप्तामा एउटा प्रत्यारोपण गर्न सकिन्छ।' हाडाले बताइन्।
चिकित्सकहरुका अनुसार प्रत्यारोपण गरेका विरामीले सुरुको तीन महिना १० देखि १५ हजारको र पछि घटाउदै लगेर बाचुन्जेल मासिक न्यूनतम करिव ८ हजारको औषधी खानुपर्छ।
नेपालमा एक अनुमान अनुसार २८ सय जनामा प्रत्येक वर्ष मृगौला फेल हुन्छ।
प्रकाशित: २७ मंसिर २०६६ २२:०८ शनिबार