स्वास्थ्य

हात्तीपाइले र कुष्ठरोग निवारणका लागि साझा प्रयास आवश्यक

कपिलवस्तुमा वर्षोदेखि अभियान चलाइए पनि निर्मुल हुन नसकेको हात्तीपाइले र कुष्ठरोगको निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको कपिलवस्तुको बुद्धभुमी नगरपालिका– २ गोरुसिगं स्थित सम्पन्न एक कार्यक्रममा औल्याइएको छ।

फेरमेड फाउन्डेशन नेपालको सहयोगमा जिल्लामा सञ्चालित आधारभुत परियोजना सम्बन्धी जिल्ला परियोजना सल्लाहकार बैठकमा सो कुरा औल्याइएको हो। प्रजिअ चक्रपाणी पाण्डेयले हात्तीपाइले र कुष्ठरोग निवारणका लागि कपिलवस्तुमा लामो सयमदेखि चलाइएको अभियान प्रभावकारी नहुँदा ती रोगका रोागीहरु अझैसम्म जिल्लामा फेला परिरहेको बताए।

अझै थुप्रै हात्तीपाइले र कुष्ठरोगीहरु समाजमा लुकेर बसेका छन् तिनीहरुलाई बाहिर ल्याउन जरुरी रहेको बताए। ती रोगविरुद्ध निःशुल्क औाषधि वितरण गरिए पनि सबैले सेवन नगर्दा दुबै रोगहरु अझैसम्म देखा परेको उनले बताए। जिल्लाको महराजगंज र कृष्णनग नगरपालिका एक महिना अघि ६ सय बढीमा गरिएको नमुना सर्वेमा ८ प्रतिशतमा हात्तीपाइलेको जीवाणु फेला परेको थियो।

जबकी जिल्लामा हात्तीपाइलेविरुद्ध १३ औ चरणको अभियान सम्पन्न भइसकेको छ। यस्तै कुष्ठरोगलाई १ प्रतिशत भन्दा कममा झार्ने योजना रहे पनि अझैसम्म २ प्रतिशत भन्दा बढी कुष्ठरोगी फेला परेका छन्। प्रति १० हजारमा एक जना भन्दा कम मा झार्ने सरकारी योजना रहेपनि औषधि सेवन प्रभावकारी नुहँदा समस्या भएको प्रजिअ पाण्डेयले बताए। अब रोग निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको उनले बताए।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछि परेको कपिलवस्तुमा अझैसम्म हात्तीपाइले र कुष्ठरोग निमुल हुन नसक्नु दुःखद कुरा भएको बताए। शिक्षा क्षेत्रका विकास नभई सो रोगविरुद्ध पार  पाउन मुस्किल रहेको भन्दै उनले तिनै तहका सरकारले कपिलवस्तुको शिक्षाको विकासमा लगानी बढाउनु पर्ने बताए। उनले सबै पालिकासहित सरोकारवालाहरुले सो रोगविरुद्धको अभियानमा साथ दिन आग्रह गरे। 

सो अवसरमा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले नागरिकहरुले औषधि सेवन नगर्दा यो रोग अझै बल्झिएको बताए। उनले २ वर्षसम्म औाषधि सेवन गरिए हात्तीपाइले रोग नलाग्ने भन्दै सबैले ईमान्दारीपूर्वक औषधि सेवन गर्नुपर्ने बताए। सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले हात्तीपाइले र कुष्ठरोगविरुद्धको महाअभियानमा आफूहरुको पुरा साथ रहेको प्रतिबद्धता व्यक्त गरे।

‘हामीले अभियानमा सबै किसिमको साथ दिन्छौ’ उनले भने। सो अवसरमा फेरयमेडका परियोजा संयोजक शशीलाल कर्णले हात्तीपाइले रोगविरुद्धको यस वर्षदेखि खुवाइने औषधि ९८ प्रतिशत प्रभावकारी रहेकोले ढुक्कसंग औषधि सेवन गर्न आग्रह गरे। गर्भवती र सिकिस्त बिरामी बाहेक अरु सबैले औषधि सेवन गर्न मिल्ने भन्दै औषधिले मलेरिया, जुका लुतोलागतयका रोगका लागि उपयोगी हुने बताए।

कपिलवस्तुमा हात्तीपाइलेविरुद्ध यही फागुन २८ गते अभियान सञ्चालन हुँदैछ। सो अवसरमा परियोजना अधिकृत निशान गुरुङले सन् २०२१ मा परियोजनाबाट सम्पन्न गरिएको क्रियाकलाप र उपलब्धीका विषयमा जानकारी गराएका थिए। परियोजानाले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा सन् २०१९ देखि २०२२ सम्म काम गर्ने योजना छ।

जिल्ला समवन्य समितिका प्रमुख खनालको अध्यक्षता, परियोजना अधिकृत गुरुङको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष प्रवीण श्रीवास्तव, कालिकाकी अध्यक्ष अन्जु शर्मा, हात्तीपाइले र कुष्ठरोगी गर्भा थारुले मन्तव्य दिएका थिए।  

प्रकाशित: १४ फाल्गुन २०७८ ०७:५८ शनिबार