स्वास्थ्य

देशभर चिसो बढ्याे, सचेत रहन चिकित्सकहरुकाे आग्रह

जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन्।

काठमाडौँसहित देशभर चिसोको मौसम सुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका हुन्। मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे। उनले अहिलेको मौसम कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने बताए।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गरे। त्यस्तै उनले यस्ता फ्लूहरुबाट बच्न रुघाखोकी लागेका मानिसहरुबाट टाढै रहन, मास्कको प्रयोग गर्न, जथाभावि नाक, कान, मुख नचलाउन पनि आग्रह गरे। उनले यस्ता भाइरसबाट बच्नको लागि झाेलिलो खानेकुरा खान र भ्याक्सिन अनिवार्य लगाउनु पर्ने पनि बताए।

कन्सलट्यान्ट फिजिशियन डा. ढुंगेलले सबै नागरिकहरुले मौसमी रुघाखोकीबाट जोगिने उपायलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले  कोभिड–१९ का बेला गरिरहेका आचरणहरुलाई प्रयोगमा ल्याइराख्नाले पनि मौसमी भाइरल रुघाखोकीबाट बच्न सकिने बताए। उनले २०२२ को लागि नयाँ इन्फ्लूएन्जाको भ्याक्सिन आउन लागेको बताउँदै कोभिडविरुद्धको भ्याक्सिनको दुई डोज लगाउनेहरुले इन्फ्लूएन्जाको भ्याक्सिन डाक्टरको सल्लाह बमोजिम लगाउन मिल्ने पनि बताए।

प्रकाशित: २३ कार्तिक २०७८ ०९:४० मंगलबार