उपचार गर्न ल्याएको एक महिला बिरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा शनिबार दिउँसो केहीबेर तनावग्रस्त भयो।
मृतकका आफन्तजनहरुले लापरवाहीको कारणले मृत्यु भएको भन्दै इर्मजेन्सीमा घेराउ गरेका थिए। उनीहरुले अघिल्लो दिन बिरामीको अवस्था ख्याल नगरी डिस्चार्ज दिने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै घेराउ गरेका थिए। शनिबार बिहानै करिब ३ बजेतिर धरान २० विष्णुपादुकाकी ४१ वर्षीय फुलमाया राईको प्रतिष्ठानको इर्मजेन्सीमा ल्याएलगत्तै मृत्यु भएको थियो। चिकित्सकहरुले राई मृत अवस्थामा आएको बताएको छ। यता, मृतकका आफन्तजनहरुले भने अघिल्लो दिन पनि इर्मजेन्सीमा उपचारको लागि आएको तर डाक्टरहरुले भने राती जर्बजस्ती डिस्चार्ज गरिदिएको दाबी गरेको छ।
मृतकको शव परिवारजनले जिम्मा लिएको छैन। अस्पताल प्रशासनले प्रहरीको रोहबरमा मृतकको शव मर्चरीमा लगेर राखेको छ। मृतककी बुहारी दुर्गा राईले पेट दुख्ने र वान्ता हुने भएर सिकिस्त भएपछि शुक्रबार राईलाई इर्मजेन्सी लगिएको बताइन्। भिडियो एक्सरे गरेर हेर्दा दुवै मृगौलामा पत्थर देखिएको थियो। सिनियर डाक्टरहरुले नहेरी नै डिस्चार्ज दिन खोजेको र आफूहरुले नमान्दा नमान्दै पनि जर्बजस्ती भाउजुलाई डिस्चार्ज दिएको बुहारी दुर्गाले बताइन्।
भाउजुलाई घर लगेपछि गाह्रो भएको र बिहान इर्मजेन्सीमा ल्याएपछि मृत्यु भएको उनको भनाइ छ। भाउजुको उपचार नगरी डिस्चार्ज दिएर पठाएको र चरम लापरवाही भएको भन्दै उनले चिकित्सकलाई करबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै अस्पताल प्रशासनमा निवेदन दिएकी छिन्। साथै, उक्त निवेदनको बोधार्थ स्वास्थ्य मन्त्रालय, प्रदेश १ सामाजिक विकास मन्त्रालय, धरान उपमहानगरपालिकालगायतमा पनि दिएकी छिन्।
प्रतिष्ठानका अस्पताल उपनिर्देशक डा.दिव्यराज मिश्रले मृतक परिवारले उजुरी दिएकोले अस्पताल प्रशासनले घटनाबारे आन्तरिकरुपमा छानबिन गर्ने बताए। ‘उजुरी दिएको हुनाले घटनाबारे एउटा कमिटी बनाएर छानबिन गछौं, उहाँहरुले मन्त्रालय र काउन्सिलमा पनि उजुरी पठाउनुभएको छ, त्यहाँबाट पनि केही हुन्छ होला,’ उनले भने,‘पहिला विरामी इर्मजेन्सी आउँदा ब्लडप्रेसर नर्मल थियो, र डिस्चार्ज भएको भन्ने छ। आज बिहान ल्याउदा ब्लडप्रेसर, पल्स केही थिएन। उहाँहरुको गुनासो पहिला डिस्चार्ज गर्न मिल्ने थियो कि थिएन भन्ने छ । यसमा कमजोरी छ, छैन छानबिनबाट नै देखिएला।’
प्रकाशित: १९ भाद्र २०७८ १९:२७ शनिबार