चीनवाट एक साताभित्र आइपुगेको थप १६ लाख डोज भेरोसेल खोप अभियानमा पनि ५५ बर्ष माथिकै उमेर समूह रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। चीनवाट शनिबार ८ लाख र बिहीबार ८ लाख डोज खोप आइपुगेको थियो। खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार चीनवाट खरिद प्रक्रियाअन्तगर्त २४ लाख डोज खोप आइसकेको छ। त्यो मध्येमा पहिलो चरणमा आएको ८ लाख डोज खोप जम्मा चारवटा प्रदेशमा मात्र वितरण भएको थियो। गण्डकी, बागमती, लुम्बिनी र प्रदेश दुईमा वितरण गरी खोप अभियान सञ्चालन गरिएको थियो। थप चार प्रदेश कणाली, सुदूरपश्चिम र प्रदेश एक र दुईमा खोप पठाउन बाँकी थियो। सुरुमा भेरोसेलको खोप अभियान सुरु गरेपछि अर्को चरणमा जोन्सोन एण्ड जोनसोनको ५० वर्षमुनिकालाई दिइनेछ।
खोप पठाएका प्रदेशहरूमा पनि खोप अपुग भएपछि पुन पठाएर यो ५५ वर्ष माथिकालाई प्राथमिकतामा राखी खोप दिन लागेको खोप शाखा प्रमुख डा. गौतमले बताए। वैदेशिक रोजगारीमा जानेहरूको हकमा बाँकी रहेका प्रदेशवाट दिइने र अपुग भएका ठाउँहरूमा भेरोसेलकै खोप दिने व्यवस्था गरिएको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पाखेरेलले बताए। भेरोसेल खोप लगाउन छुटेका शिक्षक, चालक, सहचालक र सफाइ कर्मचारी सहित ५५ बर्ष माथिकालाई अबको खोप अभियानमा समेटिनेछ । खोप पुगेमा ५० वर्षमाथिका उमेर समूहलाई खोप दिँदै जाने तयारी भएको महाशाखा प्रमुख पोखरेलले बताए। चीनले थप १६ लाख खोप अनुदान स्वरूप भनिएको खोप भने आउन बाँकी छ। यो हिसावले चीनले थप ३२ लाख भेरोसेल खोप साउन महिनाभित्रध आउनेछ।
डेढ साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले खरिद गरी बाँकी रहेको कोभिडसिल्डको थप १० लाख खोप छिट्टै उपलब्ध गराउने बचन दिएका थिए। जापानले १६ कोभ्याक्स फ्यालिटी अन्तर्गत १६ लाख डोज अष्ट्रजेनिकाको खोप दिने जनाइसकेको छ। त्यो खोप पनि दुई साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। जापानवाट थप खोप आएपछि मात्र पहिलो डोज कोभिडशिल्ड लगाएर दोस्रो डोज लगाउन बाँकी रहेका उमेर समुहलाई दोस्रो डोज दिने सरकारको तयारी छ।
नेपालमा हालसम्म १५ लाख ५४ लाख ५ सय ५४ जनाले भेरोसेलको पहिलो मात्र खोप लिएका छन् भने ६ लाख ९४ हजार ५ सय ५५ जनाले दोस्रो मात्र लिइसकेका छन्। कोभिडसिल्डको पहिलो मात्र खोप लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ जना छन् भने दोस्रो मात्रा लगाउनेको संख्या ४ लाख ६० हजार ३ सय ८ रहेको छ। जोनसोनको खोप लगाउने २ लाख ४३ हजार ३ सय १५ जना पुगिसकेका छन्। यो हिसावले नेपालमा पहिलो डोज खोप लिनेको संख्या ३३ लाख बढी छ भने दोस्रो डोज लिनेको संख्या १३ लाख भन्दा बढी छ। यो हिसाबले कुल जनसंख्याको ११ प्रतिशतले पहिलो डोज र करिव ५ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन्।
परीक्षणमा १६ प्रतिशत संक्रमित
गत चौबिस घण्टामा नेपालमा १६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण भएका १३ हजार ८ सय ३४ जनामध्येमा २२ सय ३७ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ३४ हजार ७ सय ९९ पुगेको छ। तीमध्येमा ४ लाख ६९ हजार ९ सय २४ जना दोस्रो लहरभित्र संक्रमित भएका हुन्। हाल देशभरिमा २७ हजार २ सय २८ जना सक्रिय संक्रमित छन्। तीमध्येमा २४ हजार ५ सय ४८ जना होम आइसोलेसनमा छन् भने २६ सय ८० जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गत चौबिस घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ७ सय १३ पुगेको छ। तीमध्येमा ६ हजार ४ सय २४ जनाको दोस्रो लहरको अवधिभित्र मृत्यु भएको हो।
प्रकाशित: ११ श्रावण २०७८ ०१:५३ सोमबार