स्वास्थ्य

सालकोटबाट ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सुरु

पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ। सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर आउनुपर्ने बाध्यतामा रहेका यहाँका नागरिकहरुका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले तत्कालका लागि पाक्षिक रुपमा विशेषज्ञ सेवा सुरु गरेको हो।

सालकोट प्राथमिक स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा सुरु भएसँगै बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दाहरु लाभान्वित भएका छन्। साउनसम्म पाक्षिक र भदौंदेखि साप्ताहिक सेवा सुरु गर्ने लक्ष्य मन्त्रालयको छ। पहिलो पटक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरी र डा. रवीन केसीले पश्चिम क्षेत्रका नागरिकहरुलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराएका थिए।  

‘एकै दिन ५५ जना स्थानीयको चेकजाँच गर्‍यौं,’ डा. पदम गिरीले भने, ‘अधिकांशमा हड्डी र नसाको समस्या देखियो।’ विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाई एक्सरे, ल्यावसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भएपनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले पछाडी रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए। ‘कर्णालीका सबै नागरिकहरुलाई घर–आँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘त्यसको सुरुवात पश्चिम सुर्खेतको सालकोटबाट गरेका छौं।’ उनले कर्णालीमै उपलब्ध जनशक्तिबाटै गाउँ–घरमै स्वास्थ्य शिविरहरु सञ्चालन गरिने बताए।

प्रकाशित: १७ असार २०७८ १०:५५ बिहीबार

विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर पश्चिम सुर्खेत प्राथमिक स्वास्थ्य केन्द्र