स्वास्थ्य

बीपीमा पहिलो पटक थाइमस ग्रन्थीमाक्यान्सर भएका विरामीको शल्यक्रिया

वीपी प्रतिष्ठान धरानका कार्डिक थेरासिक सर्जन डा.लोकेश जैसवाल। तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक थाइमस ग्रन्थीमा भएको क्यान्सरको शल्यक्रिया गरिएको छ।  प्रतिष्ठानका एसोसिएट प्रोफेसर एवं कार्डियो थेरासिक सर्जन डा. लोकेज जैसवालको नेतृत्वमा पहिलो पटक थाइमस ग्रन्थीको अप्रेशन भएको हो। तेह्रथुम घर भएका ३५ वर्षीय विरामीको अप्रेशन पश्चात करिब डेढ महिना भेन्टिलेटरमा राखेर थप उपचार गरिएको र सुधार भएकोले हाल डिस्चार्जको तयारी गरिएको छ। डा.जैसवालका अनुसार थाइमस ग्रन्थीमा हुने क्यान्सर दुर्लभ रोग हो। त्यसैले यो क्यान्सरेको शल्यक्रिया पनि दुर्लभ नै हुन्छ। प्रतिष्ठानमा पनि यो पहिलो पटक भएको हो।

ती विरामीको थाइमस ग्रन्थीको क्यान्सर फैलिएर फोक्सोमा पनि पुगेको डा.जैसवालले जानकारी दिए। क्यान्सरकै कारण पेटभित्रको दुवै डायफ्राम पनि प्यारालाइसिस भएर विरामीले श्वास फेर्न सकेका थिएनन् भने मुटु पनि पुर्णरुपमा ब्लक भएको अवस्थामा प्रतिष्ठान आएका थिए।  

तेह्रथुम घर भएका करिब ३५ वर्षीय ती युवाको प्रतिष्ठानका सफल अप्रेशन गरेको हो। ती विरामीलाई थाइमसको क्यान्सर फैलिएर फोक्सोसम्म पुगेको थियो भने क्यान्सरकै कारण फोक्सो मुनि रहने दुवैतर्फको डायफ्राम पनि प्यारालाइसिस भएर सास फेर्न सकिरहेका थिएनन्। विरामीको मुटू पनि ब्लक भएको थियो। थाइमस ग्रन्थी मानिसको छातीभित्र हुन्छ भने डायफ्राम छाती र पेटको बीचमा हुने मासु हो।

ती विरामीलाई मुटुमा अस्थायी पेसमेकर हालेपछि अप्रेसन गरेर क्यान्सर निकालेको डा.जैसवालले जानकारी दिए। ‘विरामीको अहिले धेरै सुधार भइसकेको छ। भेन्टिलेटरमा डेढ महिनाजति राख्यौं, अहिले आफै सास फेर्न र खाना खान सक्ने भएकोले डिस्चार्जको तयारी हुदैछ,’डा.जैसवालले भने।विरामीलाई यहाँ तत्काल अप्रेशन नगर्दा उनको ज्यान बच्ने सम्भावना नभएको उनले बताए। यसअघि थाइमस ग्रन्थीको अप्रेशन काठमाण्डौंमा वा विदेशमा मात्र हुदै आएको थियो। अब भने प्रतिष्ठानमा नै हुने पनि डा.जैसवालले बताए। विगतमा प्रतिष्ठानमा थाइमोमा ट्युमरको अप्रेशन भने भइरहेको थियो। तर, थाइमस ग्रन्थीको क्यान्सरको उपचार भने पहिलो पटक भएको हो।

करिब एक महिना पछि ती विरामीलाई रेडियो थेरापीबाट थप उपचार गर्नुपर्ने हुन्छ। ती विरामीको जीवन कम्तीमा पनि ५ बर्ष लम्बिएको डा.जैसवालले बताए। प्रतिष्ठानमा डा.जैसवालको नेतृत्वमा ५ बर्षदेखि मुटु, फोक्सो, भास्कुलरलगायतको जटिल किसिमका सम्पुर्ण उपचार तथा अप्रेशन हुदै आएको छ।  

प्रतिष्ठानमा पाँच बर्षयता ५ सय विरामीको मुटु र फोक्सोको अप्रेशन भइसकेको छ। ती मध्ये ओपन हर्ट सर्जरी ४ सय र फोक्सोको क्यान्सरको अप्रेशन एक सय हाराहारीमा रहेको डा.जैसवालले जानकारी दिए। ‘वीपीमा ओपन हर्ट सर्जरी, वाथ मुटू रोगको भल्व फेर्ने, बच्चाहरुको मुटूको प्वाल टाल्ने, फोक्सोको इन्फेक्सन र क्यान्सरको अप्रेशन पनि गछौं, धमनीहरुको पनि अप्रेशन गछौं,’डा.जैसवालले भने,‘मुटु फोक्सो, भास्कुलरको सबै अप्रेशन यही हुन्छ, त्यसको लागि काठमाण्डौं वा भारत कही पनि जानुपर्दैन।’मृगौलाका विरामीहरुलाई डाइलाइसिस गर्न आवश्यक पर्ने फिस्टुला पनि डा.जैसवालले नै बनाइदिने गरेका छन्।

प्रकाशित: १९ पुस २०७७ ११:४८ आइतबार