स्वास्थ्य

छातीमा हावा भरियो ? आत्तिनु पर्दैन

डा. विभूषाल थापा/ डा. रञ्जन सापकोटा -

'फलानाको फोक्सोमा पानी जमेछ......' हाम्रा कोही आफन्त छातीसम्बन्धी रोगी छन् भने हामीले प्रायः यस्ता वाक्य सुन्ने गर्छौँ। 'पानी जम्ने' जस्तै फोक्सोमा 'हावा जम्ने' पनि एउटा समस्या हुन्छ, जसका बारेमा यहाँ चर्चा गरिन्छ।

हुन त जेलाई हामी फोक्सोमा 'पानी जमेछ' वा 'हावा जमेछ' भन्छौं त्यो वास्तवमा फोक्सोभित्र त जम्ने होइन। 'छातीमा पानी भरिएको' वा 'हावा भरिएको' हुनुपर्नेमा हाम्रो चलनचल्तीको भाषामा फोक्सोमा पानी/हावा जमेको हुन गएको मात्र हो ( फेरि पानी वा हावा जम्ने पनि त होइन, भरिने मात्र हो! ) वास्तवमा पानी /हावा कहाँ भरिन्छ त रु फोक्सोको वरिपरि र करङको भित्रपट्टि एउटा सानो खाली ठाउँ हुन्छ-त्यहाँ भरिन्छ। सामान्यतः फोक्सो पूरै छातीभरि फुलेर बस्ने हुनाले फोक्सो वरिपरि थोरै मात्र पानी हुन्छ, जसले घर्षण कम गर्ने लगायत काम गर्दछ । तर जब रोगका कारणले त्यहाँ पानीको मात्रा बढ्न जान्छ वा हावा भरिन थाल्छ र फोक्सो फुल्न पाउँदैन र खुम्चेर बस्न बाध्य हुन्छ।
छातीभित्र फोक्सोको वरिपरि हावा कसरी भरिन्छ होला त रु स्वाभाविक छ, कि फोक्सोभित्रबाट कि छातीबाहिरबाट। छातीमा गोली लागेर वा दुर्घटनामा करङ भाँचिएर वा चक्कुजस्तो धारिलो हतियारले छातीमा चोट लाग्दा छातीभित्र हावा भरिन सक्छ। तर, चोटपटकबिना रु सम्भव छ। फोक्सो आफसेआफ पनि फुट्न सक्छ। वास्तवमा पुरै फोक्सो बेलुनजस्तो फुट्ने नभई यसको सतहमा रहेका साना हावा-फोकाहरु मात्र फुट्ने हुन्। नितान्त स्वस्थ देखिने मान्छेमा पनि यो आफसेआफ हुन सक्छ। कहिलेकाहीँ चाहिँ दमले थलिएको फोक्सो पनि आफँै फुट्न सक्छ, जसमा ती 'हावा-फोका' हरू अलि ठूला हुन्छन्। जसरी बेलुनमा प्वाल परेपछि (प्वाल सानो / ठूलो जेसुकै होस् ) बेलुन खुम्चन्छ, ठिक त्यसै गरी 'हावा-फोका' हरू फुटेर फोक्सोमा प्वाल परेपछि फोक्सो पनि खुम्चेर बस्छ।
'दुब्ला-अग्ला' किसिमका तन्नेरीहरुमा प्रायः यो समस्या देखिन्छ। तिनीहरूमध्ये पनि चुरोट खानेहरूलाई यस्तो हुने खतरा धेरै हुन्छ। अर्कोतर्फ वृद्ध, दमका रोगी र चुरोटका अम्मलीलाई पनि यो हुन सक्छ। अचानक स्याँ-स्याँ हुनु र हल्का छाती दुख्नु नै डाक्टरले शंका गर्ने आधार हुन्। थोरै मात्र हावा भरिएको छ र फोक्सो पनि उतिसारो खुम्चिएको छैन भने थाहै नभइकन टर्न पनि सक्छ, अथवा उपचारबिनै निको पनि हुनसक्छ। तर, ठूलो हावाफोका फुटेर ठूलै मात्रामा हावा भरिएको छ भने चाहिँ एकदम साह्रो पनि हुन सक्छ र तुरुन्त अस्पताल लैजानुपर्ने हुन्छ। यस्तो असाध्य चाहिँ विशेष गरी वृद्धवृद्धाहरुलाई हुन्छ, जसको फोक्सो पहिलेदेखि नै चुरोट र दमले थलिएको हुन्छ। पूरै शरीरलाई नै प्राणवायु (अक्सिजन) उपलब्ध गराउने फोक्सो नै पुरै खुम्चेपछि रगतमा अक्सिजनको कमी हुन गई शरीर नै नीलो हुन सक्छ। रगतमा कार्वनडाइअक्साइड ज्यादा भई बिरामी बेहोससम्म पनि हुन सक्छ। छातीभित्र हावा थपिँदै थपिँदै गएर अर्कोपट्टिको फोक्सोलाई पनि दख्खल पुर्यााउन थाल्यो भने चाहिँ बिरामीको ज्यानै जाने खतरा पनि उत्तिकै हुन्छ।
तन्नेरी वा बुढाबुढी जे भए पनि पुरुषहरूमा नै यो समस्या धेरै देखिन्छ। एकै जनालाई दोहोर्याीएर वा तेहेर्यापएर पनि हुने गरेको पाइएको छ। अनि लक्षणले नै ठ्याक्कै थाहा हुन गाह्रो हुने भएकाले एक्सरे लगायत परीक्षण पछि मात्रै निदान हुन सक्दछ।
के हुन्छ त उपचार?
उपचारका विभिन्न तरीकाहरू छन्, तर मुख्य कुरा भने एकै हो : हावा निकाल्नु र फेरि हावा भरिन नदिने उपाय गर्नु। माथि भनिएझैं हावा थपिँदै थपिँदै बिरामी असाध्य भइसकेको छ भने चाहिँ तुरुन्त अस्पतालमा लगी उपचार गर्नुपर्छ। थोरै मात्र हावा भरिएको छ भने कहिलेकाहीँ केही नगरिकनै छोडिदिन पनि सकिन्छ। कसै-कसैलाई सुइँले हावा तानेर फालेरै पुग्छ भने धेरैजसो बिरामीको हकमा भने छातीमा पाइप लगाएर उपचार गर्नुपर्ने हुन्छ। पाइप लगाएको केही घन्टा वा केही दिनमा नै सबै हावा निस्कन्छ र फोक्सो पनि फुलेर आउँछ। तर, त्यसो नभएको खण्डमा भने उपचारका विभिन्न विधि अपनाउनुपर्ने हुन्छ। अनि केही गरे पनि भएन भने अपरेसनकै भर पर्नुपर्ने हुन्छ। दोहोर्यानएर वा तेहेर्याएर भएको बखतमा पनि अपरेसन नै एक मात्र उपाय हो। अपरेसन गर्ने भनेको फोक्सोमा परेको प्वाललाई बन्द गर्नु हो र फेरि हावा नभरियोस् भनेर हावा भरिन सक्ने ठाउँलाई नै निमिट्यान्न पार्नु हो। छातीमा पौने एक बित्ताजति लामो घाउ बनाएर गरिने यो अपरेसन निकै नै प्रभावकारी छ। आजकल शरीरको कुनै पनि भागको अपरेसन सानो घाउ बनाएर वा प्वाल मात्रै पारेर गर्ने चलन निकै बढेर गएको छ। छातीमा पनि २-३ वटा साना प्वाल बनाएर यो अपरेसन गर्न सकिन्छ-दुखाइ कम हुने र बिरामी चाँडै घर जानसक्ने भएकाले आजभोलि डाक्टर-बिरामी सबैले यो विधि खुबै रुचाएको पाइन्छ।
के नेपालमा सम्भव छ?
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टर छातीका सम्पूर्ण रोगहरूको उपचार गर्ने नेपालको एकमात्र केन्द्रीय अस्पताल हो। नेपालबाट छातीका रोगहरूको उपचार गर्न कोही नेपाली विदेशिनु नपरोस् भन्ने ध्येयका साथ अत्याधुनिक प्रविधिसहित सेवा प्रदान गर्ने उद्देश्य बोकेको यस अस्पतालमा छातीमा हावा भरिएर नेपालभरिबाट आउने यस्ता थुप्रै बिरामीले उपचार पाइसकेका छन्। विगतमा प्रायः चिरेरै गरिनुपर्ने कतिपय अपरेसन केही समययता २-३ वटा प्वालहरूबाट मात्र गर्न थालिएको छ। उपकरण, तकनिकी र उपचार सबै नै विश्वस्तरीय रहेका कुरा उपचारको अहिलेसम्मको नतिजाले देखाएको छ।
चुरोट छाडेमा छातीमा हावा भरिने यो रोग लाग्ने सम्भावना निकै कम भएर जान्छ। यो लगायत छातीका अन्य रोगहरुको स्तरीय उपचार नेपालमा नै सरल, सुलभ र सस्तो ढंगले उपलब्ध छ।

प्रकाशित: ५ चैत्र २०६९ २१:५५ सोमबार