बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ। नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ।
आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो। ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका छ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिन नै चार हजार ६१७ जनालाई खोप लगाइएको छ। छुटेका बालबालिका र किशोरकिशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा रोगका शङ्कास्पद ७४ जना बिरामी फेला परेका थिए। जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ। सात जना बालबालिका अझै उपचाररत रहेका छन्।
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्यचौकीमा आइसोलेसन तयार गरेर उपचार समेत भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए। तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दादुराको खोप प्रदान गरिएको हो। यस्तै उपचारमा संलग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाइने छ।
खोप अभियान चैत १ गतेसम्म सञ्चालन गरिने छ। जसका लागि अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत झिकाइएको छ। अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले समेत सघाएका थिए। फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यसयता थप पाँच जनामा सङ्क्रमण पुष्टि भए पनि अन्यलाई लक्ष्यण देखिएकाले नियन्त्रणका लागि खोप लगाइएको हो।
दादुरा सङ्क्रमण नियन्त्रणका लागि खोप नै सबैभन्दा उत्तम उपाय भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका सबैलाई खोप लगाइने छ। रासस
प्रकाशित: ३० फाल्गुन २०८२ ०९:१७ शनिबार