स्वास्थ्य

सहरबाट गाउँ जानेले रोग सार्नसक्छन् : चिकित्सक

भाइरल नबनोस् चाडबाडको कोसेली-
काठमाडौं, कात्तिक १ (नागरिक)- चाडपर्व मनाउन सहरबाट गाउँ जानेहरूले रोग सार्न सक्ने भन्दै चिकित्सकले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। चाडबाडमा मानिसको आवतजावत, सम्पर्क र भेटघाटबाट सर्ने भाइरसजन्य तथा लामखुट्टे र भुसुनाबाट सर्ने कीटजन्य रोगको जोखिम बढ्ने चिकित्सकहरुको भनाइ छ।

बढी जनघनत्व तथा सरुवा रोगको संक्रमण बढिरहेको राजधानीबाट दसैंतिहारका लागि लाखौं मानिस उपत्यकाबाहिर जान्छन्। पूर्व र पश्चिम जाने मुख्य टर्मिनल चितवन विभिन्न रोगको संक्रमणका कारण जोखिमयुक्त रहेको चिकित्सकहरू बताउँछन्।

संक्रमण भएर पनि लक्षण नदेखिएको अवस्था (इक्युभेसन पिरियड) बारे थाहा नपाई वा सावधानी नअपनाई यात्रा गर्दा रोग फैलनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरले बताए। चिकित्सकका अनुसार एउटै बसमा यात्रा गर्दा र एकै ठाउँमा धेरै मानिस जमघट हुँदा, नयाँ मानिससँग हात मिलाउँदा श्वासप्रश्वासको माध्यमबाट रोग फैलिन सक्छ।

पछिल्ला दिनमा देशभर सामान्य रुघाखोकीकै रूपमा रहेका स्वाइनफ्लु, बर्ड फ्लु, भाइरल ज्वरो, डेंगे र मौसमी रुघाखोकीको संक्रमण फैलिएको छ। स्वाइन फ्लुलगायत संक्रामक रोग ठाउँ विशेषभन्दा पनि समुदायमै देखिएको छ।

चिसो बढ्दै जाँदा संक्रामक रोगको जोखिम कम हुँदै जाने डा. ठाकुरको भनाइ छ। 'आवतजावतमा सतर्कता अपनाउन सके दुई साताजतिमा यस्ता रोगको प्रभाव घटेर जान्छ,' ठाकुरले भने। चिसो बढ्दै जाँदा विभिन्न ठाउँमा बर्ड फ्लुको जोखिम बढ्ने भएकाले पक्षीको मासु, अन्डा सेवनमा सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।

औलो, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग फैलाउने लामखुट्टे तथा विभिन्न खाले भुसुनाको टोकाइले सरुवा रोगको जोखिम उच्च छ। चिकित्सकका अनुसार सहरी क्षेत्रमा देखिएको स्वाइन फ्लु, भाइरल ज्वरो, डेंगे गाउँगाउँसम्म पुग्ने खतरा छ। त्यसैगरी गाउँ गएकाहरूलाई कालाजार, जापानिज इन्सेफ्लाइटिस, औलोजस्ता रोगको संक्रमण हुने सम्भावना छ।

सबैभन्दा बढी जनघनत्व भएको राजधानी र पूर्व-पश्चिमको ट्रान्जिट चितवनमा धेरैखाले भाइरस छन्। राजधानीबाट घर फर्कंदा चितवन भएर जानुपर्ने भएकाले जोखिम रहेको चिकित्सकको धारणा छ।

भाइरल संक्रमण भएकाले खोक्दा तथा हाच्छिऊँ गर्दा एक व्यक्तिबाट अर्कोमा यो रोग सर्छ। संक्रमित व्यक्तिलाई घरैमा आराम गर्न तथा सकेसम्म टाढै बस्न चिकित्सकले सुझाव दिएका छन्। १ सय ४ डिग्रीभन्दा बढी ज्वरो, घाँटी दुख्ने, श्वास प्रश्वासमा अप्ठ्यारो, खान-पिउन असहज भएमा तत्काल अस्पताल जानुपर्ने डा. ठाकुरको सुझाव छ।
गर्भवती, ६० वर्षभन्दा बढी उमेरका, मुटु, फोक्सो, मिर्गोला, क्यान्सर, एचआइभी, डाइबेटिजजस्ता रोगका कारण प्रतिरोध गर्ने क्षमता कम भएका व्यक्तिमा भाइरलजन्य रोग संक्रमणको बढी जोखिम हुन्छ। 'चाँडै निको हुन घरमै बसेर सर्तकता अपनाउनुपर्छ, अरुलाई नसरोस् भन्नेमा सचेत हुनुपर्छ,' डा. ठाकुरले भने।

बच्ने उपाय
- रुघाखोकी लागेको व्यक्तिभन्दा एक मिटर टाढा बस्ने।
- सकेसम्म भीडभाडमा नजाने।
- संक्रमतिले पानी प्रशस्त पिउने।
- रुघाखोकी लागेको व्यक्तिसँग हात नमिलाउने।
- सार्वजनिक स्थलमा हाच्छिउँ नगर्ने।
- मास्क लगाउने।

प्रकाशित: ३० आश्विन २०६९ १९:०९ मंगलबार