त्यस्तै नेपाल सरकार सचिव स्तरको निर्णयले २०६६ फागुन १९ गतेका दिन प्राथमिक स्वास्थ्य केन्द्र लेटे मुस्ताङ बाट डाक्टर अर्जुन आचार्यलाई जिल्ला अस्पताल डोटीमा सरुवा गरेको पत्र पनि उति खेर नै आयो उनि भने अझै पुग्न सकेका छैनन्। उनीजस्ता तमामौ डाक्टरहरु सुदूरमा सरुवा हुँदा पनि आएकै छैनन्। वरु उनीहरुको सरुवाको पत्र भने महिना दिनमै पुग्छ। जिल्ला अस्पताल डोटीमा पनि सरुवा भएका आउने चिकित्सकको कागजात पुगेर एउटा मोटो फाईल नै तयार भईसकेको छ तर ति चिकित्सक भने अझै आएका छैनन्।
जिल्ला अस्पताल अछाममा पनि मेडिकल सुपरिटेन्डेन्टको पदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर नन्दलाल सिकर्मीलाई पठाएको पत्र पुगेको डेढ बर्ष अघि पुगेको थियो। तर उनि भने अहिले सम्म हाँजीर हुन आएकै छैनन्। मन्त्रालयले २०६७ माघ १० नै डाक्टर सिकर्मीलाई मेडिकल सुपरिटेण्डेन्ट पदमा खटाएको पत्र जिल्ला अस्पतालमा पुगेको थियो। त्यस्तै अछामको कमलबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको डाक्टरको दरबन्दीमा मन्त्रालयले खटाएका डाक्टर ओमकृष्ण पाठक पनि हाल सम्म जिल्लामा आएका छैनन्। जिल्ला स्वास्थ्यमा २०६६ माघ १९ मै पत्र पुगेपनि उनि भने अहिले सम्म अछाममा पुगेकै छैनन्।
त्यस्तै दुर्गम जिल्ला बाजुराको स्वास्थ्य संस्थाको अवस्था पनि नाजुक बन्दै गइरहेको छ। जिल्ला अस्पताल बाजुरामा प्रमुखको जिम्मेवारी सहित गत जेठ ८ गते प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँबाट डाक्टर झपीन्द्र पोख्रेललाई पठाईएपनि उनि भने अहिलेसम्म आएकै छैनन्। प्रमुखको जिम्मेवारी सम्हाल्ने कोही नभएपछि अहिले मन्त्रालयले सिनियर अहेव रामचन्द्र यादवलाई जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आर्थिक कारोबार सम्हाल्ने गरि अख्तियारी दिएको छ। पद अनुसारका कर्मचारी नहुँदा विकट बाजुरामा सरकारी स्वास्थ्य संस्थाको स्तर खस्कदै गइरहेको छ।
सरुवा भएका पत्र चाङ लागिसकेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय डोटीका नायब सुब्बा रुप सिंह मल्लले भने, 'सरुवा भएका पत्र ०६२ सालमा आएपनि डाक्टर भने अहिले सम्म आएकै छैनन।' उनले भने, 'आएका डाक्टर पनि यो या त्यो बहानामा महिना दिन पनि नवसेरै काजमा सरुवा भएर जान्छन्।' धेरै स्वास्थ्यकर्मी अध्ययन विदा माग्दै जाने गरेको स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ।
अध्ययन विदामा वसेका र काठमाण्डौमा काजमा वसेकाहरुलाई सुदूरमा मन्त्रालयबाटै पठाउने गरेको बताउँदै सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका क्षेत्रीय निर्देशक डाक्टर विकास लामिछानेले भने, 'सुदूरको यो समस्या प्रति पटक पटक मन्त्रालयमा पत्राचार गरिसकेका छौ।' उनले भने, 'पत्र नपठाउँ, डाक्टर पठाउ भन्दै गरिएको पत्राचारको जवाफ नआउन्जेल यसै भन्न सकिन्न।' लोकसेवाको समय आउने बेला आएकाले कर्मचारी आउन सक्ने सम्भावना भएको उनले बताए।
प्रकाशित: १५ आश्विन २०६९ १२:३७ सोमबार