भक्तपुर क्यान्सर अस्पतालले आफूहरूसँग गुणस्तरीय सेवासुविधा भएको तर स्थान अभाव भएको दुखेसो पोखेको छ। भक्तपुरमा सोमबार आयोजित अस्पतालको ३१औं वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले यस्तो दुःख बिसाएका हुन्।
‘अत्याधुनिक डायग्नोस्टिक ल्याब, सिटी स्क्यान, सर्जरी, किमोथेरापी, रेडिएसन थेरापी, आइसियु र प्यालियटिभ केयरजस्ता सबै सेवा हामीकहाँ उपलब्ध छन् तर ठाउँ अभाव छ।’ वार्षिकोत्सवका अवसरमा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन पनि गरिएको थियो।
कार्यक्रममा कार्यकारी निर्देशक डा. चालिसेले अस्पताल साँघुरो अवस्थितिमा रहेको हुँदा आउँदो ५०–१०० वर्ष धान्न सक्ने भौतिक पूर्वाधार तयार गर्न ठुलो जग्गा आवश्यक रहेको औँल्याए। यसै सन्दर्भमा जिल्लाकै चाँगुनारायण नगरपालिका– ३ स्थित ४५ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन नगर कार्यपालिकाले स्वीकृत गरिसकेको र सोका लागि मन्त्रालयसमक्ष पेस भइसकेको जानकारी कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्मालाई दिए। उनले उक्त जग्गा या अन्य कुनै उपयुक्त जग्गा प्राप्त हुने हो भने अस्पतालालाई तीन सय शय्यामा विस्तार गर्न र नयाँ नयाँ प्रविधि भित्र्याउन सकिनेतर्फ पनि ध्यानाकर्षण गराए।
अस्पतालले क्यान्सर उपचारमा समान पहुँच, करुणा र गुणस्तरीय सेवा भन्ने उद्घोषका साथ सेवा दिँदै आएको जनाएको छ। अस्पतालले अत्यन्त कम शुल्कमा क्यान्सरजस्तो जटिल रोगको निदान र उपचारमा उच्चतम प्रविधि प्रयोग गरी सर्वसाधारणको उपचारमा ठुलो योगदान पुर्याइरहेको जानकारी पनि त्यस अवसरमा गराइयो। यसबाट उपचारका लागि बिदेसिने अर्बौं रुपैयाँ देशभित्रै राख्न मद्दत पुगेको छ।
उपत्यकाभित्र सरकारी स्तरमा सञ्चालित एक मात्र क्यान्सर अस्पताल भएको नाताले यसको विकास र विस्तार गरी भविष्यमा क्यान्सर चाप धान्न सक्ने बनाउन सबैले र विशेषगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकता दिने विश्वास अस्पतालले लिएको बताइयो। अस्पतालको लक्ष्य देशमै उत्कृष्ट क्यान्सर केयर सेन्टर बन्ने मात्र नभई राष्ट्रिय नीति, अनुसन्धान र जनचेतना क्षेत्रमा पनि योगदान पुर्याउने रहेको जनाइयो। कुनै पनि नेपाली नागरिकले उपचार अभावमा पीडा भोग्न नपरोस् भन्ने हिसाबले अस्पताल अगाडि बढ्दै आएको कार्यक्रममा जनाइयो।
अस्पताल सन् १९९४ (विसं २०५१) मा दुइटा शय्याबाट सुरु भएको सानो प्यालियटिभ केयर युनिटका रूपमा थियो। यो निरन्तर फट्को मार्दै समग्र सेवा प्रदान गर्ने एक सय ५० शय्याको क्यान्सर अस्पतालका रूपमा परिणत भएको छ। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले अस्पतालमा कार्यरत २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवापत्रका साथै बेस्ट डिसिप्लेनरी अवार्ड वितरण गरिन्।
वार्षिकोत्सवमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, बागमती प्रदेशकै अर्का संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, अस्पताल विकास समितिका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठलगायतले अस्पतालका विविध विषयमा चर्चा गरेका थिए। सो अवसरमा स्मारिका पनि विमोचन गरिएको थियो।
प्रकाशित: २५ कार्तिक २०८२ ०८:२८ मंगलबार