चितवन मेडीकल कलेजमै तीनजना मलेरियाका बिरामी अहिले उपचाररत छन्। भरतपुर अस्पतालमा जाँच गरिएको ज्वरोको एक जना बिरामीमा गत शुक्रबार डेंगे फेला परेको हो। 'अहिले उपचारसँगै उनको डेंगे निको हुने क्रममा छ भरतपुर अस्पतालका बरिष्ट चिकित्सक डा.विजय पौडेलले भने गर्मीले ज्वरोका बिरामी भने बढ्ने क्रममा छ।' दैनिक दुईसय बढी बिरामी बहिरंग सेवामा आउने भरतपुर अस्पतालमा तीसबढी ज्वरोका बिरामी हुने गरेका छन्। अस्पतालमा मलेरियाकी बिरामी पार्वती कुमाल सिकिस्त अवस्थामा उपचाररत छिन्। ज्वरोले थलिएका अन्य बिरामीको पनि अस्पतालको भर्ना वार्डमा चाप छ।
चितवन मेडीकल कलेजमा भने गर्मीको शुरुवाती क्रम बैशाखको पहिलो साता नै एक बिरामीमा डेंगे फेला परेको हो। बाहिर सार्वजनिक नगरिएको ति बिरामी अस्पतालकै रेखदेखमा उपचार गराइएको थियो।
पछिल्लो पटक भने अस्पतालमा मलेरियाका तीन बिरामी रहेको बरिष्ट चिकित्सक डा.अरुण सेढाईले बताए। 'लामखुट्टेको टोकाईले डेंगे मात्र हैन यसपाली मलेरियाको बिरामीपनि बढी एक्सपोज हुदैछन् उनले नागरिकसँग भने गतवर्ष मलेरियाका बिरामी कमैथियो यसपाली शुरुवातमै तीनजना भैसके।' हाल देखिएको मलेरिया भाईबेक्स मलेरिया भएको पनि उनले बताए।
चितवन मेडीकल कलेजमा ज्वरोका बिरामी आउने क्रम बढेको डा.सेढाईले जानकारी दिए। 'दैनिक पन्द्रजना ज्वरोका बिरामी ,त्यर्स्तै हाराहारीमा झाडापखाला र टाईफाईडका बिरामी आउछन्,'उनले भने।
डेंगे सार्ने एडिस एजिप्टोटाई र मलेरिया सार्ने एनोफिलिप्स जातको लामखुट्टे मान्छेका लागि बढी खतरनाक रहेको उनी बताउछन्। ख्यालख्याल गरे डेंगु र मलेरियाले बिरामीको ज्यानै लिने भएकाले पनि लामखुट्टेबाट जोगीनुपर्ने उनको भनाई छ।
गर्मीका बेला घरभित्रै बस्न नसकिने भएकाले शितल ताप्न बाहिर निस्केका बेला यि लामखुट्टेले मान्छेलाई बढी टोक्ने गरेको पाईएको छ। 'भित्रैबसेपनि लामखुट्टे त आईहाल्छन् ज्वरोले घरमै थलिएर बसेका बेलचोकका अरुण उप्रेतीले भने बाहिरै शितल ताप्दा बढी टोक्छ लामखुट्टेले।' पाँचदिनदेखि ज्वरोको औषधी खाईरहेका उनी घरबाट लामखुट्टे धपाउन गाह्रै रहेको अनुभव सुनाउछन्। अचेल गर्मी छल्न बाहिर हिडडुल गर्ने र बस्नेहरुको साँझपख भिड नै लाग्ने गरेको छ। 'राती दश नबजेसम्म कोठामा बस्न सक्ने अवस्था छैन् भरतपुरका हरिबहादुर गुरुङ भन्छन् बाहिरै गफ गर्यो बस्यो गर्दा कपडैबाट पनि लामखुट्टेले टोकिरहन्छ।' साँझपख बाहिर केही शितल भएपनि घामचर्केका बेला सडकमा हिडडुल गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको छ। छाता ओढेरै हिड्दापनि पसिना खलखली बग्छ छिनछिनमा पानी नखाई पढ्न पनि सकिन्न अचेल,स्कुले छात्रा पवित्रा लामा भन्छिन्। चितवनमा ४२ डिग्रीको तापक्रम केहीदिनयता यथावत रहेको छ।
अचाक्ली गर्मी ४४ डिग्रीसम्म केहीदिनअघि चितवनको तापक्रम पुगेको मौसम शाखा भरतपुर नगरपालिकाले जनाएको छ।
डेंगे र मलेरिया जस्ता घातक ज्वरोबाट बच्न लामखुट्टेबाट बच्नु नै सबभन्दा राम्रो उपाय भएको चिकित्सकहरु बताउछन्। गर्मी नै भएपनि लामो बाहुला भएको कपडा लगाउनु,झुल लगाएर सुत्नु ,घरवरपर खाल्डाखुल्डी र नालीमा पानी नराख्नु जस्ता उपाय अपनाएर लामखुट्टे भगाउन सल्लाह दिन्छन् डा.अरुण सेढाई ति पानमिा डेंगे र मलेरिया सार्ने लामखुट्टेले एकै दिनमा सयौं फुल पार्ने र बच्चा जन्माउने गरेकाले पनि नष्ट गर्नु जरुरी हुन्छ । 'ज्वरो आईहाले तत्काल चिकित्सकलाई देखाउनु नै बुद्धिमानी हुन्छ उनी भन्छन् ज्वरो आएपछि औषधीसँगै तागतजन्य खानेकुरा बिरामीले खानु छाड्न हुन्न।'
गर्मीका बेलामा लामखुट्टे बाहेक खानपानको खराबीका कारण पनि ज्वरो आउने र झाडापखाला लाग्ने भएकाले सावधान रहन चिकित्सकहरु सुझाउछन्। बासी सडेगलेका खानेकुरा र बाहिर सडकका खानेकुरा सकभर नखान सल्लाह दिन्छन् डा.विजय पौडेल। भरतपुर अस्पताल,चितवनमेडीकल कलेज,भरतपुर मेडीकल कलेजमा बढी ज्वरोका बिरामीको उपचार हुने गरेको छ। यि अस्पताल बाहेक अन्य निजी तथा सामुदायिक अस्पताल र मेडीकलहरुमा समेत छिटो उपचार हुने आशमा ज्वरोका बिरामीहरु ज्ााने क्रम बढेको छ।
अन्यवर्षभन्दा यसवर्ष छि्टटै गर्मी शुरु भएकाले लामखुट्टे धपाउने अभियान चितवनमा पनि छिट्टै शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले बताए। 'अहिले गाउँगाउँमा लामखुट्टेबाट जोगिने उपायको जनचेतनामुलक कार्यक्रम चलिरहेको छ उनले भने छिट्टै शहरका लामखुट्टे भगाउने अभियान थालिनेछ।' शहरी क्षेत्रमा छिट्टै बढेको गर्मीसँगै फोहरको समस्या पनि बढी रहेकाले पनि लामखुट्टेको संख्या अघिल्लो वर्षभन्दा बढेको उनले बताए। अघिल्लो वर्ष साउनताका लामखुट्टे मारिन्थ्यो अहिले जेठमै लामखुट्टे आतंक सुरु भैसक्यो ,उनी थप्छन्। नाली र ओस रहेका ठाउँ रागजन्य लामखुट्टेको बासस्थान रहने भएकाले त्यस्ता ठाउँ तत्काल सफा गर्नुपर्ने उनले बताए। विगत तीन वर्षयता चितवनमा डेंगुसहितका लामखुट्टबाट सर्ने रोग निरन्तर रहेका छन्।
प्रकाशित: २२ जेष्ठ २०६९ १२:४७ सोमबार