चेकजाँच गर्न आएका विरामीहरुलाइ वाहिर मेडिकलमा किन्न पठाएर समस्या टार्दै गरेको जिल्ला अस्पतलका प्रमुख सूर्यबहादुर गुरुङले बताए। उनका अनुसार गत मंगलबारको जहाजमा बिराटनगरबाट आयात गरिएको एक काटन औषधिसमेत सकिएको छ। एक्स रे गर्ने प्लेट नहुदा शुक्रवारबाट एक्स रे सेवा बन्द गरिएको सो फांटका ईञ्चार्ज शिवप्रसाद पोख्रेलल जानकारी दिए। मेडिकलमा समेत कतिपय औषधि सकिएको शाक्य मेडिकल हलका सुन्दरमोहन शाक्य जानकारी दिए। शाक्यले बन्दका कारण १२ दिन यता औषधि ढुवानी गर्न नसकिएको बताए।
बर्खाको समयमा विरामीको चाप धेरै हुने गरेकाले औषधिको अभाव खड्किएको उनले बताए। औषधि व्यवसायीका जिल्ला अध्यक्ष समेत रहेका उनले जिल्लाका अधिकाँश मेडिकलहरुमा औषधि रित्तिदै गएको जानकारी दिए ।
जिल्ला अस्पतालले ताप्लेजुङमा ल्याइने औषधिका सामानहरु झापामै थन्किएको बताएको छ। अबको दुइदिनभित्र ढुवानी गर्न नसकिए अन्य औषधिको समेत अभाव हुने डा. गुरुङले जानकारी दिए। उनका अनुसार अस्पतालमा औषधि नभएकाले स्वास्थ्य चौकीहरुमा समेत वितरण गरिएको छैन। यसैबीच अस्पतालमा संञ्चित रहेको तेल समेत सकिएको छ। जेनेरेटर सञ्चालन गर्नका लागि शनिवारसम्मका लागि मात्र तेल पुग्ने भएकाले आइतवारदेखि अन्य सेवा प्रदान गर्न नसकिने अस्पतालले जनाएको छ। बिद्युत सेवा प्रवाह नहुदा एक्स-रे, शल्कृया र ल्याव सेवा लिनवाट विरामीहरु वञ्चित हुने अस्पतालले जनाएको छ।
यता संघीय लिम्वुवान राज्य परिषद्को तीन दिने हड्ताल शुक्रबार सकिए पनि यातायात व्यवसायीले गरेको अनिश्चतकालीन यातायात बन्दको घोषणाले यायात सेवा सञ्चालन अन्योलमा परेको छ। यातायातका साधन र चालकहरु असुरक्षित रहेको भन्दै जेठ ७ गतेदेखि अनिश्चितकालिन यातायात वन्द आब्हान गरेकाले औषधि ढुवानी थप अन्यौलमा परेको छ। वन्दले दुइ हप्ता यता औषधि ढुवानी हुन सकेको छैन। मेची पहाडी यातायात संघका अध्यक्ष एलपी सिटौलाले शुक्रबार साँझ नागरिकसँग कुरा गर्दै आफ्ना माग पूरा नभए सम्म बन्द जारी रहने बताए।
प्रकाशित: १२ जेष्ठ २०६९ १२:५७ शुक्रबार