स्वास्थ्य

मुटुरोगबारे चेतना जगाउन सगरमाथा पदयात्रा

दीपक दाहाल, काठमाडौं, वैशाख ३१- मुटुरोगविरूद्ध विश्वव्यापी जनचेतना जगाउन समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्म पैदलयात्रा गरिने भएको छ। बंगलादेशको सुन्दरवनदेखि भारतको सिलिगुढी हुँदै नेपालका विभिन्न ठाउँ भएर सगरमाथाको चुचुरोसम्मको झन्डै ९ सय किलोमिटर पैदलयात्रा दुई महिनामा गरिनेछ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले स्थापनाको २५ औं वर्षका अवसरमा मुटुरोग रोकथामका लागि विश्वव्यापी जनचेतना जागरण अभियानअर्न्तगत 'मुटु बचाऊ सगरमाथा आरोहण २०१३' कार्यक्रम तय गरेको हो। एक्पिडिसनका लागि 'मुटु बचाऔं वातावरण जोगाऔ' भन्ने नारा लेखिएको झण्डामा मुटु बचाउन प्रमुख ७ सुत्रसमेत उल्लेख छ।
समुद्रमा छुवाएर सगरमाथामा गाडिने उक्त झण्डामा विश्व मुटु महासंघ र प्रतिष्ठानको लोगो अंकित छ। सन् २०१३ को मार्च १ मा सुरु हुने यात्रा मे १ देखि १५ बीच चुचुरोमा समापन हुनेछ।
संसारभर मुटुरोगबारे जनचेतना जगाउने ठूलो अभियान भएको र विश्व समुदायलाई सहभागी गराउन संसारका विभिन्न देशमा प्रचारप्रसार कार्यक्रमसमेत लैजानुपर्ने भएकाले एक वर्षअघि नै कार्यक्रम घोषणा गरिएको आयोजकले बताए। यात्राको बाटोमा पर्ने भारत, बंगलादेश र नेपालका विभिन्न ठाउँमा मुटुरोगसम्बन्धी प्रस्तुतिसहित यसको जोखिमबारे जनचेतना जगाउने र स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम पनि छ।
आयोजकहरूले नेपालमा पैदलयात्रा मुलुकै होचो ठाउँ झापाको केचनाकलनदेखि धनकुटा हुँदै सोलुखुम्बुको सल्लेरीबाट सगरमाथा आधार शिविरसम्म हुने बताएका छन्। यो पैदलयात्रालाई आधार शिविरसम्म वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी र आधार शिविरबाट चुचुरोसम्म काजी शेर्पाले नेतृत्व गर्ने प्रतिष्ठानले जनाएको छ। रेग्मी आयोजक समिति संयोजक र शेर्पा सन् १९९९ मा सबैभन्दा छोटो समय (२० घन्टा २४ मिनेट)मा सगरमाथा चढेका आरोही हुन्। मुटुरोगको जोखिम र यसबाट हुने मृत्यु कम गर्न जनचेतना जगाउन यस्तो कार्यक्रम तय गरिएको रेग्मीले बताए।
प्रतिष्ठानले दुई साताअघि दुबईमा भएको विश्व मुटु महासंघको सम्मेलनमा नेपालका तर्फबाट यो कार्यक्रम घोषणा गरेको थियो। अभियानमा पूर्ण एवं अल्प अवधिका लागि स्वास्थ्य क्षेत्रमै संलग्न व्यक्तिबाट सहभागिताको व्यापक चासो देखिएको रेग्मीले बताए।
यात्रामा प्रतिष्ठानसँग सम्बन्धित चिकित्सक, समाजसेवीसँगै मुटुरोगीका विश्वका संघसंस्था तथा जनसमुदायका सदस्य रहने प्रतिष्ठानका महासचिव दिपेन्द्रपुरूष ढकालले बताए। 'यति लामो यात्रामा ज-जसलाई जुन ठाउँमा पायक पर्छ, त्यहीअनुसार सहभागी हुन सकिन्छ,' रेग्मीले भने, 'यात्रा अवधि र दुरीका आधारमा निश्चित शुल्क लाग्छ।' रेग्मीका अनुसार हजारौ सहभागी हुने यात्रामा बंगलादेशदेखि सगरमाथा आधार शिविरसम्म कम्तीमा २५ जना अनवरत सामेल हुने र पाँच जनाले सगरमाथा नै आरोहण गर्नेछन्।
रेग्मीले आफूले बंगलादेशबाट यात्रा तय गरेर आधार शिविरसम्म र त्यहाँबाट सम्भव भए चुचुरोमै जाने तयारी गरेको बताए। काजीसहित निमा न्याङगेल शेर्पा, पासाङ शेर्पा, कामी शेर्पा र लाक्पा शेर्पाले चुचुरोसम्मकै यात्रा प्रयास गर्नेछन्। रेग्मीले माउन्टेन मेडिसिनमा विशेषज्ञता कोर्स गर्दैछन्।
यात्रामा विश्व मुटु महासंघ, एसिया प्यासिफिक हार्टनेट, नेपाल हार्ट नेट, नेपाल पर्वतारोही संघलगायत संघसंस्था र चिकित्सक समुदाय सहभागी हुनेछन्।
स्पिड उपनाम पाएका आरोही काजीले धेरैपटक सगरमाथा चढ्दा विभिन्न रेकर्ड राख्ने र चढ्ने सोच राखेको भए पनि यसपटक संसारको चुनौती बनेको मुटुरोगका लागि कार्यक्रम गर्न लागेको बताए। कार्यक्रमको केन्द्रीय नेतृत्व प्रतिष्ठान र स्थानीय तहमा प्रतिष्ठानको सोलुखुम्बु शाखाले गर्नेछ। कार्यक्रमका लागि लाग्ने करिब १ करोड ७० लाख रुपैयाँ गैरसरकारी संस्था, सहभागी एवं विभिन्न दातामार्फत संकलन गरिने छ।
हत्यारा नं. एक
विश्व स्वास्थ्य संगठनले हत्यारा नं. १ को संज्ञा दिएको मुटुरोगबारे पर्याप्त जनचेतना भए ५० प्रतिशत रोग कम हुन्छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म प्रत्येक घरमा कोही न कोही मुटुरोगी हुने भविष्यवाणी गरेको छ। संगठनका अनुसार विश्वभर मुटुरोगका कारण बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गरेको छ। यीमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख देशमा हुने गरेको छ।
चिकित्सकहरूका अनुसार धेरैजसो मुटुरोगको कारण जीवनशैली हो। जीवनशैली स्वास्थकर बनाउन सके ८० प्रतिशत र जनचेतना जगाउन सके ५० प्रतिशत मुटुरोग नियन्त्रण गर्न सकिन्छ। रेग्मीले जीवनशैली परिवर्तनका लागि जनचेतना जगाउनु प्रमुख उद्देश्य भएको बताए।
झण्डामा अंकित हुने नाराहरूमा बाथ मुटुबाट बच्न टन्सिल उपचार, धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन नगर्ने, नुन-चिनी-चिल्लो कम प्रयोग गर्ने, हरियो सागपात एवं फाइबरको सेवन बढाउने, नियमित व्यायाम, उच्च रक्तचाप, सुगर र मधुमेहको अवस्था थाहा पाउने र तनाव कम गर्ने छन्।

प्रकाशित: ३० वैशाख २०६९ २१:४७ शनिबार