सरकारी अस्पतालमा निःशुल्क र सुलभ सेवाका नाममा धेरै झन्झट बेहोर्नुपरिरहेको डा.थापाले स्वीकारे। रोग पत्ता लगाउन गरिने परीक्षणका लागि पनि वीरमै भर पर्ने बिरामीले दुई महिनासम्म कुर्नुपर्ने अवस्था छ।
ढाड दुखेको उपचार गर्न गोरखाबाट आएका शिव खनालले वीर अस्पताल चहारेको एक महिना पुग्यो। 'कहिले न्युरो, कहिले मिर्गौलासम्बन्धी डाक्टरलाई देखाउनुपर्छ भन्छन्,' खनालले भने, 'आफूले देखाएको डाक्टरलाई फेरि भेट्न एक साता कुर्नुपर्ने रहेछ।'
चिकित्सकका अनुसार ढाडको दुखाइमा नसा, मिर्गौला र हड्डीसम्बन्धी परीक्षण स्वाभाविक हो। तर, सरकारी अस्पतालमा सेवा वितरणको झन्झटिलो प्रणालीका कारण बिरामीलाई सेवा पाए जस्तै लाग्दैन।
वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरीका अनुसार बाहिर महँगो शुल्कमा परीक्षण गर्न तयार हुने र डाक्टरसँग कुराकानी गरेर पालो मिलाउन सक्नेहरू अलि छिटो उपचार पाउँछन् भने सोझासिधा बिरामी अलमलमै हराउँछन्।
'सामान्य मान्छेको रोग पत्ता नलाग्दै पैसा सकिन्छ र रोग पनि गम्भीर भइसक्छ,' मुडभरीले भने।
सुरु जनरल ओपिडीमा आएको बिरामी एक/दुई दिनपछि मात्रै विशेषज्ञसम्म जान पाउँछ। विशेषज्ञले सुझाएअनुसार दिसा, पिसाब र रगत जाँच गरेरै आउँदा पनि दुई दिन लाग्छ।
'पहिले देखाएकै डाक्टर भेट्न एक साता कुर्नुपर्छ, अलि महँगा र विशेषज्ञसँगै परीक्षण गर्न दुई महिनासम्म लाग्छ,' तीन महिनाअघि वीर निर्देशकमा नियुक्त डा.थापाले भने, 'हामीले दिनसक्ने सेवा पनि दिइरहेका रहेनछौं।'
वीर अस्पतालमा मेडिसिन विभागअन्तर्गत नसा, मुटु, कलेजो, मिर्गौला र ग्यास्टिकका ओपिडी चल्छन्। बिरामीको चाप वीरमा भन्दा बढी रहेको टिचिङमा यिनै युनिटका ओपिडी सातामा दुई दिन मात्रै चल्छ।
वीरमा भिडियो एक्सरे गर्न चार दिन, सिटिस्क्यान गर्न पाँच दिन र नसाको अवस्था हेर्ने प्रविधि डप्रन गर्न एक महिना र इन्डोस्कोपी गर्न तीन साता कुर्नुपर्ने अवस्था छ। 'इन्डोस्कोपी अहिले सातामा ६० जनाको हुन्छ,' डा.थापाले भने, 'चार दिन सेवा दिने हो भने १ सय २० जनाको गर्न सकिन्छ।'
डा. थापाले भने सरकारी अस्पतालमा सुधार आवश्यक भइसकेको बताए। 'मैले विभिन्न विभागका चिकित्सकहरूसँग छलफल गरेर साताभरि नै ओपिडी चलाउने पहल गरिरहेको छु,' उनले भने, 'असामान्य अवस्था र धेरै परीक्षणको जरुरी पर्ने अवस्थावाहेक अस्पताल छिरेकै दिन बिरामी रोग पत्ता लगाएर जाओस् भन्ने हाम्रो चाहना हो।' छलफलपछि न्युरो, ग्यास्ट्रो, लिभर र डेन्टल विभागले सातैभरि ओपिडी चलाउन तयार भइसकेको र आगामी सातादेखि सकेसम्म सबै रोगसम्बन्धी ओपिडी सातै दिन चलाउने उनले बताए।
वीरमा दैनिक १ हजार ५ सय र शिक्षण अस्पतालमा १ हजार ७ सय बिरामी ओपिडी सेवा लिन पुग्छन्। अस्पतालका अनुसार सातै दिन ओपिडी चलाउन सके बिरामीको चाप घट्ने र निजी अस्पताल धाउनुपर्ने बाध्यता हट्ने छ।
प्रकाशित: ८ भाद्र २०६७ २०:२४ मंगलबार