स्वास्थ्य

स्वास्थ्य टिप्सः पायल्स र आयूर्वेदिक उपचार

पछिल्लो समय पायल्सको समस्याले धेरैलाई हैरान बनाएको छ। दिसा साह्रो हुने, दिसामा रगत देखा पर्ने र मलद्वारबाट मासु बाहिर निस्कने समस्या भएमा त्यो पायल्सको लक्षण हुन सक्छ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजले उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ। सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर पायल्सबाट छुटकारा पाउन सकिन्छ, तर ढिलो भएर जटिल अवस्थामा पुग्यो भने उपचार गर्न गाह्रो हुन्छ।

पायल्स के हो ?

मलद्वारमा सा–साना रगतको नलीहरू हुन्छन्। अत्यधिक कब्जियत हुने बिरामीमा ती नलीहरू सुन्निनु वा फुल्नुलाई पायल्स भनिन्छ। पायल्स दुई प्रकारको हुन्छ, भित्रि पायल्स र बाहिरी पायल्स।  

भित्रि पायल्स

भित्रि पायल्समा दिसा गर्दा रगत आउने हुन्छ। यसमा पनि चार वटा अवस्थाहरू हुन्छन्।  

पहिलो अवस्थाः  पहिलो अवस्थामा दिसा गर्दा रगत मात्र आउने हुन्छ। दुखाइ पनि हुँदैन।  

दोस्रो अवस्थाः दिसा गर्दा मलद्वारबाट मासु बाहिर निस्कने र आफै भित्र जाने अवस्था दोस्रो अवस्थाको पायल्स हो। यसमा रगत पनि बग्ने गर्दछ।  

तेस्रो अवस्थाः दिसा गर्दा मलद्वारबाट मासु बाहिर निस्कने, तर आफै भित्र नजाने अवस्था तेस्रो अवस्थाको पायल्स हो। यसो भएमा हातले मासुलाई ठेलेर भित्र पठाउनु पर्ने हुनसक्छ।  

चौथो अवस्थाः दिसा गर्दा, खोक्दा, हाछ्यु गर्दा मलद्वारबाट मासु बाहिर निस्कने, आफै नजाने र हातले ठेल्दा पनि जान नसक्ने अवस्था चौथो अवस्थाको पायल्स हो। यसो भएमा  इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ।  

बाहिरी पायल्स  

मलद्वारको वरिपरीको छालामा मासुको डल्लो जस्तो निस्किएको हुन्छ। यसमा धेरै दुखाइ हुने गर्दछ। यसमा रगत जमेको हुन्छ।

पायल्स हुने कारणहरू  

पायल्सको मुख्य कारण कब्जियत नै हो। हाम्रो दैनिक खानपान नमिल्दा कब्जियत हुन्छ। एकै ठाउँमा बसेर धेरै काम गर्दा, पानी कम खाँदा, बाहिरी खानेकुरा खाँदा व्यायाम नगर्दा, पनि पायल्स हुन सक्छ। त्यस्तै ट्वाइलेट गर्दा मोबाइल चलाउने, पत्रपत्रिका पढ्ने बानी भएकाहरूमा पनि थाहै नपाई हामी कन्ने समस्या हुन्छ। त्यसो गर्दा पनि पायल्स हुनसक्छ।

पायल्सका लक्षण

पायल्स हुँदा विशेषगरी दिसा गर्दा रगत बग्ने हुन्छ। यस्तै भित्रि पाइल्समा धेरै दुखाइ हुँदैन। यस्तै भित्रि पाइल्स हुँदा बिरामीले मलद्वारबाट केहि मासु निस्केको जस्तो अनुभव गर्छन्।  

आयूर्वेदबाट उपचार सम्भव छ ?  

पछिल्लो समय पायल्सको उपचार आयूर्वेदिक तरिकाबाट पनि गर्न सकिने र त्यसको प्रभावकारिता पनि राम्रो रहेको अत्यधिक मात्रामा प्रचारप्रसार भइरहेको पाइन्छ। यस्तोमा प्रश्न उठ्छ–के साच्चै आयूर्वेदिक पद्धतिबाट पायल्सको उपचार सम्भव छ? उपचार पद्धति कत्तिको प्रभावकारी हुन्छ?  

कन्सल्टेन्ट शल्य चिकित्सक डा.सिजन कोजु आयुर्वेदिक विधिबाट पायल्सको उपचार सम्भव हुने बताउँछन्। सँगै उनले आयूर्वेदिक पद्धतिबाट गरिने उपचार अहिले झनै प्रभावकारी बन्दै गइरहेको कोजुको भनाई छ।  

डा. कोजु पहिलो र दोस्रो अवस्थाको पायल्सलाई आयुर्वेद औषधिबाटै निको पार्न सकिने  बताउँछन्। तेस्रो र चौथो अवस्थाको पायल्सलाई भने शल्यक्रिया गर्नुपर्ने हुन्छ। 

शल्यक्रिया गर्दा विशेषगरी ‘क्षार सूत्र’ विधिबाट शल्यक्रिया गरिने डा कोजु बताउँछन्। क्षारसूत्र भनेको ‘क्षार’ र ‘सूत्र’ मिलेर बनेको छ, जसमा सूत्र भनेको धागो (थ्रेड) हो र क्षार भनेको(अल्काली) हो।  

पायल्सको उपचारका लागि क्षार बनाउँदा अपामार्ग, पलास, स्नुही, आँक, बर्रो, चित्रक, कदलीसहितका २६ वटा बोटमध्ये कुनै एउटा बोटलाई सुकाएर बालेर खरानी बनाउने र त्यस खरानीलाई ६ गुणा पानीमा राखेर घोल्ने गरिन्छ। यस घोललाई २१ पटक पातलो कपडा राखेर छान्ने गरिन्छ । अनि आगोमा पकाइन्छ। त्यसबाट अलिकति चिप्लो सेतो पदार्थ पाइन्छ। त्यसैलाई क्षार भनिन्छ।  

उक्त क्षारसूत्रले पाइल्स क्रोनिक फिसरको मासु एनल पोलिपमा मासुको बेसमा बाँध्ने गरिन्छ। त्यसले ७ देखि १० दिनमा मासु सुकेर झर्दछ। यसरी पायल्स ठिक हुने डा. कोजु बताउँछन्।  

यो विधिबाट शल्यक्रिया गर्दा ठुला ठुला सुईहरु लगाउनु नपर्ने र दुखाइ पनि सहनु नपर्ने डा. कोजु बताउँछन्। यस्तै शल्यक्रिया गर्दा अस्पतालमै भर्ना पनि हुनुपदैन। ‘आज शल्यक्रिया भएमा आज नै बिरामी घर जान सक्छन्। शल्यक्रियापछि पनि दैनिक आफ्नो काम गर्न सकिन्छ,’ डा. कोजुले भने। उनका अनुसार शल्यक्रियाको तीन देखि चार हप्तामा पायल्स ठिक हुन्छ।  

यो पद्धतिबाट शल्यक्रिया गरेपछि समस्या दोहोरिने सम्भावना पनि नरहेको उनको भनाई छ। उपचार खर्चमा पनि नेपालका सरकारी अस्पतालमा ५ देखि ६ हजारमै शल्यक्रिया हुन्छ।  

‘क्षार सूत्र’ विधिबाट शल्यक्रिया गर्दा बिरामीहरूलाई अलि धेरै पोल्नसक्ने भने उनी बताउँछन्। ‘कसैकसैलाई एलर्जी पनि हुनसक्छ,’ उनले भने।  

पायल्स हुँदा के खाने ?  

हरियो सागसब्जी, प्रशस्त मात्रामा पानी, झोलीलो खानेकुरा, मुला, काक्रो, गाँजरको सलाद खाने गर्नुपर्छ।  

पायल्स हुँदा के नखाने? 

कब्जियत हुने खाना नखाने, बढी मात्रामा माछा–मासु नखाने, बाहिरको जंग फुड नखाने,  मैदाजन्य खानेकुरा नखाने, धेरै चिल्लो–पिरो खानेकुरा नखाने।  

प्रकाशित: २० असार २०८२ १३:३१ शुक्रबार

#NagarikNews #Dr sijan koju