स्वास्थ्य

प्रयोगशालामा कृत्रिम डिएनए बनाउने परियोजना विवादमा

मानिसको शरीरको सबैभन्दा महत्त्वपूर्ण आधार मानिने डिएनएलाई प्रयोगशालामा बनाउने विवादास्पद परियोजना वैज्ञानिकहरूले सुरु गरेका छन्। यो अद्भूत कार्य पहिलो पटक हुन लागेको हो।

विश्वको सबैभन्दा ठुलो मेडिकल परोपकारी संस्था ‘वेलकम ट्रस्ट’ले यो परियोजना सुरु गर्न प्रारम्भिक चरणमा एक करोड पाउन्ड सहयोग गरेको छ। यस्तो प्रयोगले मानिसमा लाग्ने गम्भीर रोगको उपचारमा तीव्रता ल्याउन सकिने र यसका बेफाइदाभन्दा फाइदा बढी हुने दाबी गरिएको छ।

परियोजना र परियोजनाबाट हुने अनुसन्धान जीवविज्ञानको क्षेत्रमा भविष्यका लागि ठुलो फड्को हुने बेलायतको क्याम्ब्रिजस्थित एमआरसी लेबोरेटरी अफ मोलिक्युलर बायोलोजीकी डाक्टर जुलियन सेल बताउँछिन्। ‘यसका अपार सम्भावना छन्। हामी उपचारका यस्ता तरिकाहरूमा विचार गरिरहेका छौं। यसले मानिसको उमेर लम्ब्याउनुका साथै जीवनलाई अझ राम्रो बनाउनेछ। मानिसले स्वस्थ जीवन बिताउन सक्नेछन् र उमेर बढ्दै जाँदा शरीरमा रोगहरू पनि कम हुनेछन्,’ उक्त परियोजनामा समेत सहभागी डा. सेल भन्छिन्।

अनुसन्धानका क्रममा रोगहरूसँग लड्ने कोषिकाहरू (सेल्स) बनाइने र ती कोषिकालाई कलेजो र मुटु, प्रतिरक्षा प्रणालीसँग सम्बन्धित रोगलाई उपचार गर्न प्रयोग गरिने उनको भनाइ छ। तर आलोचकहरूले यो अनुसन्धान परियोजनाले उन्नत वा संशोधित नश्लका मानिस बनाउने बाटो खुल्न सक्ने आशंका गरेका छन्। यो परियोजनाको विरोधमा लागेको समूह ‘बियोन्ड जिएम’का निर्देशक डाक्टर प्याट थोमसका अनुसार यो विज्ञानको प्रयोग ‘नोक्सान हुने काम र युद्धका लागि’ पनि हुन सक्छ।

मानव जिनोम परियोजना (ह्युमन जिनोम प्रोजेक्ट) पूरा भएको २५औं वर्षको अवसरमा डिएनए निर्माण परियोजनाको विस्तृत जानकारी बिबिसी न्युजलाई दिइएको थियो। यो परियोजनाअन्तर्गत मानव डिएनएका अणुहरूको म्यापिङ गरिएको थियो। पहिलो परियोजनालाई पनि ‘वेलकम’ ट्रस्टबाट ठुलो आर्थिक सहयोग प्राप्त भएको थियो।

हाम्रो शरीरका रातो रक्त कोषिकाहरू (आरबिसी) बाहेक हरेक कोषमा डिएनए हुन्छन् र यसले मानिसको हरेक आनुवंशिक जानकारी बोकेको हुन्छ। डिएनए धेरै साना ब्लकबाट बनेको हुन्छ, जसलाई ए, जी, सी र टी भनिन्छ। यी ब्लकहरू विभिन्न संयोजनमा रहन्छन् र आश्चर्यजनक रूपमा यिनै अवयवमा मानिसको शरीर बनाउने सबै आनुवंशिक जानकारी रहेको हुन्छ।  यसअघि सम्पन्न मानव जिनोम परियोजनाले वैज्ञानिकहरूलाई बार कोडजस्तै गरी सबै मानव जिन पढ्न सक्ने क्षमता दिएको थियो।

अब आएर सिन्थेटिक मानव जीनोम परियोजनाअन्तर्गत शोधकर्तालाई डिएनएको हरेक अणुको अध्ययन मात्र नभई यसका केही अंश बनाउन पनि सक्षम बनाउनेछ। भविष्यमा यसले अणुको सानो अंशबाट पुरै डिएनए बनाउन सक्ने क्षमता पनि दिन सक्ने मानिएको छ।

वेलकम सेंगर इन्स्टिच्युटका निर्देशक प्राध्यापक म्याथ्यु हल्र्स मानिसको जिनमा केही गडबडी हुँदा रोग लाग्ने र यस्ता अध्ययनहरूले उपचार प्रक्रियालाई अझ राम्रो बनाउने दाबी गर्छन्।

मानव जिनोमको सबैभन्दा ठुलो भागको सिक्वेन्सिङ गरेका प्राध्यापक हल्र्स ‘शून्यबाट सुरु गरी डिएनएको निर्माण गर्नाले डिएनएले वास्तवमा कसरी काम गर्छ भन्ने जान्ने मौका मिल्न सक्ने’ तर्क गर्छन्। यसअघि डिएनएमा सामान्य हेरफेर गरेर मात्र केही बुझ्न सकिएको चर्चा गर्दा उनले भने, ‘यो अध्ययनले ‘नयाँ सिद्धान्तहरू परीक्षण गर्ने मौका पनि दिनेछ।’ यस परियोजनाको काम ‘टेस्ट ट्युब र डिसेज’सम्म मात्र सीमित रहने र कृत्रिम रूपमा कसैलाई जन्म दिने प्रयास नगरिने उनको दाबी छ।

तर विज्ञका अनुसार यो प्रविधिले शोधकर्ताहरूलाई मानवजीवनमा यस्तो नियन्त्रण दिनेछ, जुन यसअघि कहिल्यै सम्भव थिएन। परियोजनाको उद्देश्य राम्रो उपचार तरिका पत्ता लगाउनु भए पनि वैज्ञानिकहरूसँग यसको दुरुपयोग रोक्ने कुनै निश्चित विधि नभएको आलोचक बताउँछन्।

एडिनबरा विश्वविद्यालयमा आनुवंशिक वैज्ञानिक प्रोफेसर बिल अर्नसाका अनुसार गलत मानिसहरूले यस प्रविधिबाट जैविक हतियार, उन्नत मानव र यहाँसम्म कि मानव डिएनए भएका अन्य जीवहरू बनाउने प्रयास गर्न सक्छन्। उनले बिबिसी न्युजसँग भने, ‘रहस्यमय जिन बोतलबाट बाहिर आइसकेको छ। हामी अहिले नै यसमा केही प्रतिबन्ध लगाउन सक्छौं तर उचित सुविधा भएको कुनै निकायले केही कार्य गर्न सुरु गर्छ भने हामी रोक्न सक्दैनौं।’

‘बियोन्ड जिएम’का निर्देशक थोमस उपचारका विधिहरू विकास गर्ने स्वास्थ्य सेवासम्बन्धी कम्पनीले यस प्रविधिबाट फाइदा उठाउने प्रयास गर्न सक्ने बताउँछन्। उनी भन्छन्, ‘यदि हामी शरीरका कृत्रिम अंग, यहाँसम्म कि कृत्रिम मानिस बनाउन सफल हुन्छौं भने प्रश्न यो उठ्छ कि उनीहरूको मालिक को हुनेछ?’

यस प्रविधिको भविष्यमा सम्भावित दुरुपयोगको आशंकाबिच वेलकम ट्रस्टले यसलाई आर्थिक सहयोग किन दियो भन्ने प्रश्न पनि उठेको छ। यसका लागि सहयोग दिने निर्णय गर्ने डाक्टर टम कोलिन्सका अनुसार यो निर्णय बिनासोचविचार गरिएको होइन। ‘हामीले आफैंलाई सोध्यौं कि हामी यस दिशामा केही गर्दैनौं भने यसको मूल्य के हुनेछ?’ उनले बिबिसीलाई भने।

भविष्यमा कुनै दिन यो प्रविधि जसरी भए पनि विकसित हुने चर्चा गर्दै उनले यो परियोजनालाई जिम्मेवारीपूर्वक सम्पन्न गरिने बताए। ‘जहाँसम्म सम्भव छ, हामी नैतिकता र आचरणसँग जोडिएका प्रश्नहरूमा पनि विचार गरिरहेका छौं,’ उनले भने।

यस परियोजनामा वैज्ञानिक अनुसन्धानका साथसाथै एउटा सामाजिक विज्ञान कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ। यसको नेतृत्व केन्ट विश्वविद्यालयमा समाजशास्त्रका प्रोफेसर जोय जागले गर्दैछन्। ‘हामी विशेषज्ञहरू, समाजशास्त्रीहरू र खासगरी आम जनताको विचार जान्न चाहन्छौं कि उनीहरूले यस प्रविधिसँग आफूलाई कसरी जोड्छन्। यो उनीहरूका लागि कसरी लाभदायक हुन सक्छ?’ प्राध्यापक जागको भनाइ छ।

-बिबिसीमा आधारित

प्रकाशित: १९ असार २०८२ ०७:०७ बिहीबार

# Nagarik # DNA