नेपालमा ४० देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा टाउकोको ट्युमर देखिएको पाइएको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालमा ब्रेन ट्युमर देखिने औसत उमेर ४६.३२ अर्थात ४० देखि ५० वर्ष उमेर समूहमा देखिने गर्छ।
केन्द्रको तथ्याकं नेपालमै ब्रेन ट्यमुर सम्बन्धी राष्ट्रिय तथ्याकं हो। विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा केन्द्रले सो तथ्यांक सार्वजनिक गरेको हो। देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ विरामीको तथ्यांक संकलन गरिएको हो।
तथ्याकं अनुसार नेपालमा हरेक वर्ष ५ हजार २ सय देखि ६ सय जनामा नयाँ मस्तिष्क ट्युमरका विरामी पहिचान हुने गरेको छ। त्यसैगरी नेपालमा ब्रेन ट्युमर पुरुष र महिलामा बराबर ५०/५० प्रतिशतमा पाइएको छ। ट्युमर भएकाहरूमा वान्ता हुने ३६ प्रतिशत र टाउको दुख्ने ५८ प्रतिशत छन्। अन्य लक्षणहरूमा बेहोस हुने, घुर्ने, पक्षघात र टाउको दुख्ने लक्षण हुन्छ।
नेपालमा देखिने ट्युमरमध्येमा ग्लायोमा ३९ प्रतिशत हुन्छ। ग्लायोमा ट्युमरमध्येमा ५६ प्रतिशत उच्च ग्लोयामा ट्युमर छ भने २१ प्रतिशत मेनिन्जयोमा र पिट्युटरी ट्युमर ८ प्रतिशत छ। ट्यमुर भएका विरामीहरू उपचारमा ढिला भएकाले सबै विरामीको उपचार हुन कठिन हुने गरेको वीर अस्पतालका न्युरोसर्जन तथा नेशनल ब्रेन ट्युमर सेन्टरका संस्थापक अध्यक्ष डा. राजिव झा बताउँछन्।
उनको अनुसार नेपालमा धेरैजसो विरामी ट्युमर ३५ सेन्टिमिटरभन्दा बढी भएपछि मात्र आउँछन्। प्राय: विरामी योभन्दा बढी अर्थात् ग्रेड ३ र ४ पछि मात्र आइपुग्ने भएकाले उनीहरूको शल्यक्रियामा जटिलता हुन्छ।
जनचेतनाको कमीले प्राय: विरामी ढिला उपचारमा आउने गरेको डा. झाको भनाइ छ। यसका लागि दिनहुँ विहानै धेरै टाउको दुख्ने, वान्ता हुन खोज्ने र शरीरको सन्तुलन तलमाथि हुने जस्ता लक्षण देखिएमा ब्रेन ट्यमुरको लक्षण हुन्छ। यी लक्षण देखिए तुरुन्त न्युरोलोजिस्टसँग परीक्षण गर्नुपर्ने डा. झाको सुझाव छ।
प्रकाशित: २५ जेष्ठ २०८२ १३:२३ आइतबार