स्वास्थ्य

मानसिक रोगी किशोर किशोरीहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँछन्– अध्ययन

बेलायतमा गरिएको एक वृहत् सर्वेक्षणले मानसिक स्वास्थ्य समस्या भएका किशोरकिशोरीहरु सामाजिक सञ्जालमा धेरै समय बिताउने देखाएको छ । औसतमा अन्यभन्दा उनीहरु यस्ता सञ्जालमा ५० मिनेट बढी समय बिताउने गरेको र उनीहरूको अनलाइन अनुभव र खुसी अन्य किशोरी भन्दा कम हुने देखिएको छ । ३,००० भन्दा बढी बेलायती किशोर किशोरीमा गरिएको उक्त सर्वेक्षणले यस्तो देखाएको हो ।

‘नेचर ह्युमन बिहेभियर’ नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित सो अध्ययन अन्तर्गत विशेष गरी मानसिक स्वास्थ्य समस्या भएका किशोर किशोरीहरूले कसरी सामाजिक सञ्जाल प्रयोग गर्छन् भन्ने कुराको अन्वेषण गरिएको थियो । 

अध्ययनको सहभागी रहेकी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयकी युवाहरूको मानसिक स्वास्थ्य र सामाजिक सञ्जाल प्रयोग विषयकी विशेषज्ञ लुइसा फास्सीका अनुसार यो बिषयमा यति ठुलो स्तरमा हालसम्म धेरै कम अध्ययन भएकाले यो अध्ययनको सान्दर्भिकता महत्त्वपूर्ण रहेको छ ।

यसैगरी, कोलम्बिया युनिभर्सिटी इरभिङ मेडिकल सेन्टर, न्यू योर्क सहरकी क्लिनिकल बाल तथा किशोर मनोविज्ञानी एनी मेरी अल्बानो भन्छिन्, ‘यदि तपाईंको युवावस्था चिन्ता, डिप्रेसनका कारणले कमजोर छ भने, सामाजिक सञ्जाललाई सावधानीपूर्वक निगरानी गर्नुपर्ने हुन्छ । अध्ययनले सम्बद्ध परिवारलाई  एउटा राम्रो चेतावनी दिएको छ । ’

अनुसन्धानकर्ताले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले सन्  २०१७ मा ११ देखि १९ वर्षका बालबालिकामा गरेको सर्वेक्षणका तथ्याकहरुको विश्लेषण गरेका थिए । अध्ययनमा सहभागीहरूको गहन क्लिनिकल मूल्याङ्कन गरिएको थियो भने  र उनीहरूलाई सामाजिक सञ्जाल साइटहरूको प्रयोगको बिषयमा र यी साइटहरू कस्तो लाग्छ भनेर सोधिएको थियो ।

अध्ययनमा समेटिएका १६ प्रतिशत उत्तरदाताहरूमा कम्तीमा एक मानसिक स्वास्थ्य समस्या थियो। यी मध्ये ८ प्रतिशतमा  डिप्रेसन र चिन्ता जस्ता ‘आन्तरिक’ समस्याहरू थिए । उनीहरुले आफैँप्रति नकारात्मक भावनाहरू राखेको पाइएको थियो । यसैगरी, ३ प्रतिशतमा  बाह्य समस्याहरू थिए र उनीहरु अरूप्रति नकारात्मक भावना राख्ने गरेको देखिएको थियो ।

तथ्याक विश्लेषणले मानसिक स्वास्थ्य समस्या भएका युवाहरूले समग्रमा सामाजिक सञ्जालमा धेरै समय बिताउने गरेका देखाएको थियो । आन्तरिक समस्या भएकाहरूमा बाह्य समस्या भएका वा कुनै मानसिक स्वास्थ्य समस्या नभएकाको तुलनामा अनलाइनमा आफूलाई अरूसँग तुलना गर्ने सम्भावना बढी देखिएको थियो । 

आन्तरिक समस्या भएकाहरू आफ्ना पोस्टमा गरिएका टिप्पणी वा प्रतिक्रियाबाट पनि बढी प्रभावित हुनु गरेको पाइएको थियो ।  सामाजिक सञ्जालमा  कति समय बिताउने भन्ने बिषयमा उनीहरूको नियन्त्रण कम थियो । 

अध्ययनले  विभिन्न मानसिक स्वास्थ्य समस्याहरूसँग संघर्ष गरिरहेका किशोर किशोरीहरूको उपचार कसरी गर्ने भन्नमा दिशा निर्देश गर्ने अनुसन्धानकर्ताको दाबी छ । 

अध्ययनको सहलेखक समेत रहेकी फास्सी भन्छिन्, ‘चिकित्सकले यो जानकारीलाई प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, युवाहरूलाई सामाजिक सञ्जालको प्रयोगलाई नियमित गर्न वा कम सामाजिक तुलना गर्न मद्दत गर्ने प्रविधिहरू प्रयोग गर्न सकिन्छ।’

यसैगरी, अध्ययन परिणामको क्लिनिकल प्रयोग हुनेमा अल्बानो पनि सहमत छिन् । ‘सामाजिक सञ्जाल साक्षरताका क्षेत्रमा हामीले धेरै काम गरेका छौ । उदाहरणका लागि, सामाजिक सन्देशको जवाफ कसरी दिने, उनीहरूको रुचिलाई बढवा दिने साइटहरू कसरी छनोट गर्ने, आत्म–मूल्यलाई  नकारात्मक प्रभाव नपार्ने साइटहरू कसरी सिफारिस गर्ने जस्ता विषय महत्त्वपूर्ण रहन्छन्, ’ उनी भन्छिन् ।

अध्ययनले सामाजिक सञ्जालले किशोर किशोरीहरूमा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउँछ अथवा निम्त्याउनै भन्ने विषयलाई नसमेटेको उनको कथन छ । यो विश्वका अनुसन्धानकर्ताहरूका लागि बहसको विषय पनि हो । यो विषयलाई सम्बोधन गर्न सहभागीहरूको विभिन्न उमेर समूहमा थप अध्ययन हुनुपर्ने र त्यस्ता अध्ययन लामो अवधिसम्म हुनुपर्ने अनुसन्धानकर्ताको सुझाव छ । 

प्रकाशित: २४ वैशाख २०८२ १४:०४ बुधबार

#Mental Health