स्वास्थ्य

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो। उनका परिवारले जनप्रतिनिधि मार्फत नगर अस्पतालमा सम्पर्क गरे। अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो। अपराह्न उनले स्वस्थ शिशु जन्माइन्। अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उनको निवास पुर्‍याइयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। हालसम्म यो सेवा १३ जनाले लिएका छन्। मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो।

नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्किंदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ। नगरपालिकाले २० लाख १० हजार रूपैयाँमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो।

प्रकाशित: १० वैशाख २०८२ ११:१३ बुधबार

# Health and Population Minister Pradeep Paudel # Nagarik # Free ambulance service