बालबालिकाहरूमा लाग्ने क्यान्सर समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशत भन्दा बढी निको हुन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।
'बालबालिकामा लाग्ने जुनै क्यान्सर रोग पनि ठुलालाई लाग्ने भन्दा निको हुने सम्भावना अत्याधिक बढी हुन्छ, बाल क्यान्सर दिवसको अवसरमा शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा भएको कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले भने, त्यस कारण बालबालिकामा हुने क्यान्सरलाई जतिसक्दो छिटो पहिचान गरी उपचार गरौँ ।’ बालबालिकामा लाग्ने क्यान्सरको पनि तह हुने भन्दै उनले वयस्कलाई जस्तै जतिसक्दो छिटो उपचार गर्याे उति नै बढी बालबालिकामा लाग्ने क्यान्सर पनि निको हुने सम्भावना बढी रहने जनाए ।
हरेक वर्ष फेब्रुअरी १५ तारिखका दिन अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यस दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर विज्ञ ऋतु लामिछानेले वयस्कलाई भन्दा बालबालिकामा लाग्ने क्यान्सर निको हुने सम्भावना बढी भए पनि समयमै पहिचान हुन नसक्दा समस्या हुने गरेको सुनाइन् । कति त उपचारकै पहुँचमा छैनन्, उनले भनिन्, उपचार गराएकाहरू पनि कोहीकोही उपचारलाई पूर्णता नदिई नै छोड्छन् । यही कारण क्यान्सर रोगी बालबालिकाहरूले अकालमा ज्यान गुमाउनु परिरहेको दुःख उनले व्यक्त गरिन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ग्लोबल चाइल्डहुड क्यान्सर इनिसिएटिभले क्यान्सरसँग लडिरहेका बच्चाहरूको सबै पीडा र पीडालाई हटाउन र सन् २०३० सम्ममा विश्वभर क्यान्सरको निदान भएका सबै बालबालिका र किशोरकिशोरीहरुको लागि कम्तीमा ६० प्रतिशत बाँच्ने लक्ष्य हासिल गर्नु रहेको छ । हरेक वर्ष विश्वभर करिब दुई लाख ८० हजार जना १९ वर्ष मुनिका जनसख्याँमा क्यान्सर भएको तथ्याङ्क छ । संसारमा हरेक ३ मिनेटमा एक जना बालबालिकाले क्यान्सरका कारणले मृत्युवरण गर्नु परिरहेको तथ्याकं छ । डब्ल्यूएचओकै तथ्याङ्क अनुसार प्रत्येक वर्ष चार लाख भन्दा बढी बालबालिका र २० वर्ष मुनिका किशोरहरूलाई क्यान्सरको निदान गरिन्छ । यसरी क्यान्सर लागेका बालबालिका र किशोरकिशोरीहरुको बाँच्ने दर उनीहरू बस्ने देश र क्षेत्रमा निर्भर गर्दछ । धेरैजसो उच्च आय भएका देशहरूमा ८० प्रतिशत बाँच्ने सम्भावना रहेको जनाइएको छ ।
अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले भक्तपुर क्यान्सर अस्पतालले गएको मंसिर १ गतेबाट बालबालिकाहरूको निःशुल्क क्यान्सर उपचारको बन्दोबस्त मिलाएको जानकारी गराए । त्यसका लागि हाल अस्पतालको वाल क्यान्सर विभागका विशेषज्ञ बाल क्यान्सर चिकित्सकहरूले उपचार सेवा दिइरहेको उनले जनाए । अस्पतालमा हाल बाल क्यान्सरका बिरामीका लागि सात वटा बेड रहेको र थप १५ बेडको वन्दोवस्तीका लागि कामहरू भइरहेको जानकारी उनले गराए । हालसम्म अस्पतालले ६ महिनादेखि १४ वर्षसम्म उमेरका झण्डै तीन दर्जन बाल क्यान्सर रोगीहरूको उपचार गराइसकेको उनले जनाए । निःशुल्क हुन अगाडिदेखि हालसम्म झण्डै दुई सय क्यान्सर रोगी बालबालिकाहरूको उपचार अस्पतालले गराइसकेको उनले जनाए ।
उपचार गराई शुक्रबार मात्रै डिस्चार्ज भएका बालकका आमा तुल्सी थापाले एक वर्ष उपचार गराएपछि छोरालाई निको भएको र डिस्चार्ज गरी सुर्खेत घर फर्कन लागेको भन्दै कार्यक्रममा खुसी व्यक्त गरिन् । उनले विभिन्न अन्य संघसंस्थाहरुको सहयोगमा अस्पतालमा बालबालिकाहरूका लागि घरकै वातावरणमा खेलौनासहितका व्यवस्था रहेको समेत जनाइन् । साथै एउटा संस्थाले अस्पतालमा रहेर बालबालिकालाई क्यान्सर रोगको उपचार गराइरहेका उपत्यका बाहिरका १४ परिवारलाई निःशुल्क खाने, बस्ने व्यवस्था मिलाइदिएकाले आफूहरूलाई अझै बढी सहज भएको उनले बताइन् । कार्यक्रममा क्यान्सर रोगी बालबालिकाहरूले नृत्य प्रदर्शन गरी कार्यक्रममा सहभागी सबैलाई खुसी तुल्याएका थिए ।
प्रकाशित: २ फाल्गुन २०८१ १७:४४ शुक्रबार