वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाको डिम्बाशयबाट १८.६ किलो वजनको ट्युमर निकालिएको छ। मोरङकी ३९ वर्षे महिलाको डिम्बासयबाट ५० सेमी आकारको ट्युमर शल्यक्रिया गरी निकालिएको हो।
प्रतिष्ठानको गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्व टोलीले ती महिलाको ट्युमर शल्यक्रिया गरी निकालेको प्रतिष्ठानका सह प्रवक्ता डा. अभिजीत कुमारले बताएका छन्।
चार महिनादेखि हिँड्डुल गर्न, खान र श्वासप्रश्वासमा कठिनाइ भोग्दै आएकी तथा आर्थिक स्थिति नाजुक भएकी ती महिला आफ्नो उपचारका लागि विराटनगर, भरतपुरलगायत पोखरासम्म पुगेकी थिइन्। तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकाले अन्त्यमा उपचारको आशा बोकी प्रतिष्ठानमा आएर सफल भएको परिवारका सदस्यले बताएका छन्। ती महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा.डा. अचला ठाकुरको सिफारिशमा प्रतिष्ठानले सबै परीक्षणहरू, बेड चार्ज तथा शल्यक्रिया निःशुल्क व्यवस्था गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. अभिजित कुमारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जटिल प्रकृतिको शल्यक्रियाका लागि डा. श्रेष्ठलगायत उक्त विभागकी प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोषकुमार झा, डा. रिचा भट्टराईको संलग्नता रहेको थियो। त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल तथा उनको टिमको संलग्नता रहेको थियो। नर्सिङ तर्फबाट सुजाता राईलगायत टिमको संलग्नता रहेको थियो।
सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरूमा प्रजनन अंगको रूपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रूपमा बढ्दै जानु हो। महिलाहरूमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दायाँ र बायाँ दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ। डिम्बाशयको ट्यूमर प्राय: क्यान्सर रहित अवस्था, क्यान्सर हुनसक्ने अवस्था र क्यान्सर भएको अवस्थाका हुने चिकित्सकको भनाइ छ।
प्रकाशित: २५ माघ २०८१ १८:५५ शुक्रबार