स्वास्थ्य

अस्पतालमा मौसमी फ्लु र प्रदूषणका बिरामी बढ्दै

फाइल तस्वीर

उपत्यकाका ठूला अस्पतालहरूले मौसमी फ्लु र प्रदूषणका बिरामी बढेको पाइएको छ। माघ महिनादेखि यस्ता बिरामी बढ्न थालेको र अहिले थप संख्यामा वृद्धि भएको चिकित्सकले औल्याएका छन्। दुई सातादेखि यस्ता बिरामीको संख्या बढिरहेको अस्पतालहरूले जनाएका छन्।

वीर अस्पताल मेडिकल विभागको अनुसार यो विभागमा दैनिक १५ देखि २० प्रतिशत आइरहेका छन्। उनीहरूमा रुघाखोकी, ज्वरो, छालासम्बन्धी एलर्जी, दम घाँटी दुख्ने, भाइरल निमोनियाँ, जाडोको झाडापखाला जस्ता समस्या लिएर आइरहेका छन्। दुई सातादेखि यता यस्ता बिरामी बढेको अस्पतालका मेडिकल विभागका प्रमुख डा. ध्रुव गैरेले बताए।

यो विभागको बहिरंग विभागमा दैनिक औसत ३ सय जना उपचारमा आउने गरेकोमा अहिले थप ६० देखि ६५ जना यस्ता बिरामी आइरहेको डा. गैरेले बताए।

दुई सातादेखि यता भाइरल ज्वरो र निमानियाँका बिरामी नै बढी आइरहेको सिभिल अस्पतालका प्लमोनोरी तथा छातिरोग विशेषज्ञ डा. विदेश विष्टले जानकारी दिए। बिरामी भएर कडामध्ये नौ जनामा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भएको छ।

परिक्षण नभएकाहरू सामान्य उपचारपछि घरमा गएका छन्। दैनिक ३०/४० मौसमजन्य बिरामी उपचारमा पुगेको अस्पतालले जनाएको छ। मौसमी फ्लुको लक्षण देखिएका धेरैजसो बिरामी निश्चित समयपछि आफैं निको भए पनि केहीमा जटिल समस्या आएपछि एन्टिभाइरल औषधीसमेत दिनुपरेको डा. विष्टले बताए।

रुघाखोकी र भाइरल ज्वरोकै बिरामी आएको शुक्रराज ट्रपिकल तथा शुक्रराज अस्पताल टेकुले जनाएको छ। अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनको अनुसार रुघाखोकी, ज्वरो, घाँटी दुख्ने जे सुकै भने पनि उनीहरू मौसमी फ्लुका बिरामी रहेको बताए।

जाडोपछि तापक्रम बढ्ने क्रममा मौसत परिवर्तन हुने समय भएको र यो अवधिमा मौसमी भाइरस सक्रिय हुने भएकाले मौसमी रुघाखोकीका बिरामी बढ्ने गर्छन्। अहिले यो अस्पतालमा उपचारमा आएकामध्ये धेरैजसो मौसमी फ्लुका बिरामी रहेको डा. पुनले बताए।

दिउँसो न्यानो देखिए पनि बिहान बेलुकी चिसो हुने, वातावरणमा प्रदूषण बढेको कारण मौसमी फ्लुसँगै श्वासप्रश्वासजन्य रोगहरू बढेको वीर अस्पतालका फिजिसियन डा. गैरेले बताए। प्रदूषणको कारण श्वास÷प्रश्वासजन्य रोगको संक्रमण बढ्छ,’ उनले भने।

प्रदूषण बढेकै कारण दम, एलर्जी र छाला चिलाउने, आँखा चिलाउनेजस्ता रोगहरूसमेत बढेको उनले बताए। ‘यतिखेर न हावा शुद्ध देखिन्छ न पानी शुद्ध,’ उनले भने।

यो मौसममा बिहानको समयमा हावामा प्रदूषण बढी भएकाले सकेसम्म बिहानै मर्निङ वाकमा नजाने, बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, हातको सफाइमा ध्यान दिने जस्ता सावधानी अपनाउनु पर्ने सुझाए।

चिसोमा घर बाहिर निस्कँदा शरिरलाई न्यानो बनाउने खालका खानाहरू प्रोटिन खानाहरू, सुप, अन्डा, माछामासु, गेडागुडीको झोल, मौसमी फलफूलजस्ता खानेकुरा नियमित रूपमा खानाले भाइरल संक्रमणको जटिलता कम हुने या संक्रमण भइहाले कडा रूप नलिने चिकित्सक सुझाउँछन्।

ज्येष्ठ नागरिक, शिशु तथा दीर्घरोगीहरू सकेसम्म भीडभाडमा नजाने र जानैपरे भरपर्दो मास्कको प्रयोग गर्ने र फ्लुविरुद्धको खोप लिने गरेमा मौसमी फ्लुको संक्रमणबाट बच्न सकिने चिकित्सकले सुझाए।

प्रकाशित: १९ माघ २०८१ १०:०४ शनिबार