केही सातायता चीन हुँदै भारतमा पनि फैलिएको भनिएको एचएमपिभी (ह्युमन मेटान्युमो भाइरस) नेपालमा पहिलादेखि नै रहेकाले त्रसित नहुन तर सतर्क भने रहन चिकित्सकले सुझाएका छन्। यो भाइरसको विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडिया र सामाजिक मिडियामा चर्चा भइरहेको छ। केही दिनदेखि दुई भारतीयमा यो भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसबारे चासो बढेको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले नेपालमा यो भाइरस सन् २०११ देखि नै रहेकाले नयाँ नभएको बताए। यो भाइरसले बालबालिकामा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने र समयमै उपचार नभएमा निमोनिया भई जटिल समस्यासमेत ल्याउन सक्ने भएकाले सतर्क हुनुपर्ने उनले बताए।
‘बालबालिकाको सफाइमा ध्यान दिनु र उनीहरूलाई भिडमा पनि नलैजानु,’ उनले भने।
नेपालमा हरेक वर्ष यो भाइरस देखापरे पनि यसलाई मौसमी फ्लुका रूपमा लिइने गरेकाले छुट्टै र धेरै परीक्षण नहुँदा कतिजनामा संक्रमण भइरहेको छ भन्ने यकिन तथ्यांक नभएको घिमिरेले बताए।
रुघाखोकीको संक्रमण हरेक वर्ष औसत नौ/दस हजार जनामा हुन्छ र त्यसमा एचएमपिभी पनि हुने घिमिरे बताउँछन्। उनले भने, ‘हरेक वर्ष यो भाइरस देखिन्छ तर हामीले सबैलाई छुट्टै जाँच गर्ने चलन छैन।’ भारत र चीनमा यो भाइरस फैलिएपछि श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने विभिन्न भाइरसको परीक्षण गरी छुट्ट्याएर हेर्न थालिएको जानकारी उनले दिए।
अहिले जनमानसमा त्रासको विषयसमेत बनेको यो भाइरसको यकिन अवस्थाबारे जानकारी नभइसकेकाले सतर्क हुनुपर्ने तर आत्तिन नहुने कोसी प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख तथा भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए।
‘नेपालमा पहिलेदेखि रहेको यो भाइरस अहिले चीन या भारतमा देखिएको जस्तो हो कि हैन भन्ने कुरामा जिन सिक्वेन्सिङ हुनुपर्छ। त्यसपछि मात्र यकिन हुन्छ’, उनले भने।
अहिलेसम्म भारत र चीनमा देखिएको एचएमपिभीको प्रजाति एउटै हो या हैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठन र चिनियाँ सरकारी निकायबाट धारणा नआइसकेकाले यो कडाखालको हो या हैन भन्ने यकिन नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. शेरबहादुर पुनले बताए। उनका अनुसार चीन र भारतमा एचएमपिभीको परिवर्तित रूप देखापरेको भए त्यसको असर नेपालमा पनि पर्न सक्छ, हैन भने पहिलाकै जत्तिको असर हुन्छ। अन्तर्राष्ट्रिय वैज्ञानिकहरूका अनुसार चीनमा कोभिडपछि यो भाइरस देखापरेको हो।
तर एचएमपिभीको जिन परिवर्तित स्वरूपमा आएमा त्यसले सबैतिर असर पुर्याउन सक्ने भएकाले यकिन सूचना समयमै हुनुपर्ने पुनले बताए। अहिले नेपालमा यो भाइरसको विषयलाई लिएर त्रसित हुनुभन्दा जिन सिक्वेन्सिङ गरी यकिन हुनुपर्ने तथा चीन र भारतमा देखापरेको भाइरसको प्रजातिबारे पनि यकिन हुनु आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार हरेक जाडो मौसममा एचएमपिभीलगायत भाइरस देखापर्ने भएकाले रुघाखोकीबाट जस्तै बच्ने उपाय अपाउन सकिन्छ। मास्क प्रयोग गर्ने, बालबालिकालाई भिडभाडमा नलैजाने, न्यानो वातावरणमा राख्ने र संक्रमण भइहालेमा समयमै उपचारमा पुर्याउनु यसबाट जोगिने उपाय भएको पुनले बताए।
प्रकाशित: २५ पुस २०८१ ०७:०१ बिहीबार