स्वास्थ्य

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँ: स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले केही समयमा कानुन नै बनाएर एकीकृत गर्न सके झनै राम्रो हुने बताए।मन्त्री पौडेलले  लक्षित वर्ग स्पष्टसँग छुट्टाउन सके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारे।

उनले नागरिकलाई दिने सेवा छिचोलेर नभई एकीकृत गरेर प्रभावकारी ढङ्गबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए।उनले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानुन संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बिमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको धारणा राखे।

सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बिमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक रहेको स्वास्थ्य मन्त्री पौडेलको भनाइ छ।मन्त्री पौडेलले नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दा पनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थितिको अन्त्य गर्नुपर्ने बताए। 

प्रकाशित: ११ मंसिर २०८१ १३:२१ मंगलबार

#Minister Pradeep Poudel #Health Insurance Board