स्वास्थ्य

टोलबस्ती शिविर राखेर सेवाप्रवाह

खोटाङको साकेला गाउँपालिकाले वडावडामा घुम्ती शिविर राखेर नागरिकलाई सेवाप्रवाह गर्दै आएको छ। भौगोलिक विकटताका कारण गाउँपालिका केन्द्र र वडा कार्यालयसम्म आएर सेवा लिन असहज नागरिकलाई पायक पर्ने गाउँटोलसम्मै पुगेर सरकारी सेवा दिन थालेको हो।

सडक बाटो अप्ठेरो तथा वृद्धवृद्धा, अपांगता र अशक्तहरूलाई सहज सेवा उपभोग गराउन टोलबस्तीस्तरीय घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाप्रमुख डिएम चामलिङले बताए। टोलस्तरीय शिविर सञ्चालन गरेपछि विकट बस्ती र वर्षायाममा सडक बिग्रेर सेवा लिन नपाएका नागरिकलाई सहज भएको उनले बताए।

वडा नम्बर १ का वडाध्यक्ष हेमन राईले पञ्जीकरण शाखा र वडा कार्यालयको आयोजनामा सञ्चालित घुम्ती शिविरबाट एउटै वडाका चार ठाउँमा शिविर चलाएको बताए। उनका अनुसार बाँझे च्यानडाँडामा बुधबार र बिहीबार सञ्चालित दुई दिने शिविरबाट एक हजार नागरिक लाभान्वित भएका छन्। गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि सम्मिलित टोली विभिन्न टोलबस्तीसम्म पुगेर नागरिकलाई सेवाप्रवाह गरेको उनले बताए।

वडाध्यक्ष राईले वडाका सेखुवा, बाँझे, डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा शिविर सञ्चालन गरेको बताए। शिविरमा सामाजिक सुरक्षाभत्ता कार्ड नवीकरण, मालपोत राजस्व संकलन, स्वास्थ्य परीक्षण लगायत विभिन्न समितिगत सेवाप्रवाह गरिएको छ।

शिविरमा ३६० जनाले सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरेका छन् भने ४३० जनाले वर्षौंदेखि नतिरेको मालपोत कर शिविरस्थलमै बुझाएका छन्। त्यस्तै ४२० जनाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष राईले बताए।

भौगोलिक विकटताका कारण ससाना काम गर्न पनि खर्च र दिन माया मारेर वडा कार्यालय धाउनुपर्ने बाध्यता हटाउन यस्तो शिविर आवश्यक रहेको गाउँपालिकाले महसुस गरेको छ। उमेर र शारीरिक अशक्तताका कारण वडा कार्यालयसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरी यस्ता टोलस्तरीय शिविर निरन्तर आयोजना गर्दै लाने योजना पनि गाउँपालिकाले बनाएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।  

प्रकाशित: ३० भाद्र २०८१ ०७:३६ आइतबार

# DM Chamling head of the social security and registration branch of the rural municipality # Sakela Rural Municipality of Khotang #Collection of cargo revenue