स्वास्थ्य

एमबिबिएस प्रवेश परीक्षाको नतिजा पारदर्शी बनाउन सांसद पौडेलको आग्रह

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटि गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यता क्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने भए पनि रोल नम्बरका आधारमा गरिएको बताए ।

उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिले गम्भीर प्रकृतिको गल्ती गरेका बताए। उनले मानवीय गल्ती गरेर विद्यार्थीहरूको भविष्यलाई धरापमा पार्न पाइन्छ  ? भनी प्रश्न समेत गरे । उनले आयोगले ३ हजार विद्यार्थीको नतिजा भद्रगोल गरेको बताए । उनले नतिजा पारदर्शी बनाउन आग्रह गरे ।

उनले एमबिबिएस मेरिटका आधारमा पढ्न पाउने विद्यार्थीहरूको कोटालाई व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

प्रकाशित: १८ भाद्र २०८१ १५:३२ मंगलबार

#MBBS Entrance Exam #MP Devendra Paudel