स्वास्थ्य

बि एन्ड सीलाई सम्बन्धन

अन्ततः व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पाएको छ। चिकित्सा शिक्षा आयोगले मंगलबार सम्बन्धन दिने निर्णय गरेसँगै उक्त अस्पतालले मेडिकल कलेजको मान्यता पाएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बालुवाटारमा आयोगको १४औं बैठक बसेको थियो। बैठकमा आयोगका सहअध्यक्षद्वय स्वास्थ्य तथा जनससंख्यामन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए।

सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै बैठकले बिएन्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो। उक्त अस्पताललाई कलेजको मान्यता दिनुपर्नेमा प्रधानमन्त्री दाहालले पनि विशेष जोड दिएको बताइएको छ।

गत चैत १२ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो। तर चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले सर्वोच्चको आदेश त्रुटिपूर्ण रहेको बताउँदै न्यायिक पुनरवलोकनको माग राख्दै आएका छन्।

सर्वाेच्चले गत जेठ १४ गते १५ दिनभित्र बिएन्डसीलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश दिएको थियो। आदेशपछि विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धनका लागि सिफारिससहितको पत्र आयोगलाई पठाएको थियो। 

प्रकाशित: ५ असार २०८१ ०७:१३ बुधबार

#Durga-Prasai #B&C Hospital #Medical