स्वास्थ्य

कलेजो प्रत्यारोपण गर्ने बढ्दै

फाइल तस्वीर

भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्ने बिरामी संख्या ह्वात्तै बढेको छ। सात आर्थिक वर्षसम्म फाटफुट रूपमा मात्रै कलेजो प्रत्यारोपण गर्नेहरू रहेकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा ह्वात्तै बढेर १२ जना पुगेको हो। केन्द्रले राखेको तथ्यांकअनुसार केन्द्रले हालसम्म २४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। तीमध्ये आधाआधी भन्दा बढी अर्थात् १३ जना चालू आर्थिक २०८०/८१ को नौ महिनाभित्रैका हुन्।

तथ्यांकअनुसार केन्द्रले आर्थिक वर्ष २०७३/७४ देखि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो। सुरुको आर्थिक वर्षमा दुई जनाले कलेजो प्रत्यारोपण गरेका थिए। त्यसपछि क्रमशः आर्थिक वर्ष २०७४/७५, २०७५/७६, २०७६/७७ र २०७७/७८ मा एक आर्थिक वर्षमा एकएक जनाले मात्रै सेवा पाएका थिए। आर्थिक वर्ष २०७८/७९ मा तीन जना र २०७९/८० मा दुई जनाले कलेजो प्रत्यारोपण गरेका थिए।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स, प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरूको निरन्तरको प्रतिबद्धता र योगदानबाट मात्र छोटो समयमा केन्द्रले उचाइ चुमेको बताए। फलस्वरूप चालु आर्थिक वर्षमा मात्रै १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको उनले बताए।

केन्द्रले २०८० वैशाखदेखि चैत मसान्तसम्म मात्रै एक सय ८४ जनाको मृर्गौला प्रत्यारोपण गरेको तथ्यांक छ। स्थापना भएको १२ वर्षमा एक हजार दुई सय जना भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरी नयाँ जीवनदान दिएको केन्द्रले बतायो।

१२ वर्षको छोटो अवधिमा नै मानिसलाई नयाँ जीवनदान दिएर उल्लेख्य काम गर्न सफल भएको केन्द्रले थोरै समयमा सफलताको लामो फड्को मारेको केन्द्रको दाबी छ।

प्रकाशित: १४ वैशाख २०८१ ०७:५४ शुक्रबार

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपण गर्ने बढ्दै