स्वास्थ्य

प्रसुती गृहमा ‘उद्घाटन राजनीति’

सुत्केरी हुन अन्यत्रै जान्छन् महिला

उद्घाटनपछि पनि सञ्चालनमा आउन नसकेको राप्ती सोनारी गाउँपालिका ६ स्थित कमैयाडाँडा बर्थिङ सेन्टर। तस्बिर: अर्जुन/नागरिक

बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा जिल्लाको राप्ती सोनारी गाउँपालिका ६ का महिलाले सुत्केरी सेवा लिन अन्यत्र जानुपरेको छ।

बर्थिङ सेन्टरको भवन उद्घाटन गरिए पनि यहाँ आवश्यक पूर्वाधार बनेको छैन। बर्थिङ सेन्टर उद्घाटन भएको दुई महिनासम्म पनि अधुरो रहँदा स्वास्थ्यकर्मीले प्रसुती सेवा दिन सकेका छैनन्।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत वडा ६ स्थित कमैयाडाँडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रपरिसरमै बर्थिङ सेन्टरका लागि भवन बनाएको थियो। गाउँपालिका कार्यालयको प्राविधिक शाखाले दिएको जानकारीअनुसार उक्त भवन निर्माणका लागि स्थानीय भुवर भवानी निर्माण सेवाले २६ लाख २५ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

भवन निर्माण कार्य सम्पन्न भएको भन्दै गत असोज ९ मा उद्घाटन गरिएको उक्त बर्थिङ सेन्टर अधुरो हुँदा अहिलेसम्म गर्भवतीलाई सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्।

उक्त बर्थिङ सेन्टर प्रमुख अतिथिसमेत रहेका गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गरेका थिए। अधुरो बर्थिङ सेन्टरले वडामा रहेका गर्भवतीलाई प्रसुती सेवा दिन नसकेपछि अन्यत्रै गएर सुत्केरी हुन महिला बाध्य भएका हुन्।

गत असोज महिनायता मात्रै चारजना सुत्केरी हुनका लागि आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडाको सम्पर्कमा आएका थिए। तर केन्द्रले बर्थिङ सेन्टर सञ्चालनमा नआएको बताएपछि उनीहरू अन्यत्रै गएर सुत्केरी भएको सेवा केन्द्रका प्रमुख नियामत अली साईले बताए।

‘बर्थिङ सेन्टरको भवन बनेपछि यस वडाका महिलाले चासो राख्नुभएको छ, सुत्केरी हुन चारजना महिला त हाम्रो सम्पर्कमै आउनुभयो, तर हामीले सेवा सञ्चालनमा नआएको बताएपछि वडा ७ मा गएर सुत्केरी हुनुभयो’, उनले भने, ‘अरू कति संख्यामा कहाँ गएर सुत्केरी भइरहनुभएको छ, यसको तथ्यांक आएको छैन।’

अघिल्लो आर्थिक वर्षमा उक्त स्वास्थ्य सेवा केन्द्र गाउँपालिकाकै सबैभन्दा धेरै स्वास्थ्य सेवा दिने स्वास्थ्य केन्द्रका रूपमा थियो। थारू समुदायको उल्लेख्य बसोवास रहेको उक्त वडामा गर्भवती हुनेको संख्या पनि धेरै छ।

बर्थिङ सेन्टरका लागि गाउँपालिका कर्मचारीले प्राविधिक स्टिमेटमा आवश्यक पूर्वाधार नराखिदिँदा सेवा अधुरो हुन पुगेको यहाँका स्थानीय बासिन्दा बताउँछन्।

एकातिर प्राविधिक स्टिमेटमा बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार छुट्ट्याइएको, अर्कातिर ठेकेदारले पनि स्टिमेटअनुसार काम नगरेको स्थानीयको आरोप छ। ‘बर्थिङ सेन्टर निर्माणमा केही न केही बदमासी भएको छ, दुनियाँमा कहीं नभएको अनौठो काम हाम्रो वडामा भयो, उद्घाटन भएको बर्थिङ सेन्टर अलपत्र छु’, एक स्थानीयले नाम नछाप्ने शर्तमा भने।

आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज साईले पनि भवनमा आवश्यक पर्ने कतिपय पूर्वाधार नभएको गुनासो गरे। ‘पहिलो कुरा स्टिमेट गर्दा प्राविधिकले बर्थिङ सेन्टरका लागि अति आवश्यक पर्ने पूर्वाधार नै छुटाइदिनुभएको छ, अर्को कुरा, स्टिमेटअनुसार पनि पूरा काम भएको देखिँदैन’, उनले भने।

प्रमुख साईका अनुसार स्टिमेट गर्दा प्राविधिकले सुत्केरी कक्षमा टायल बिछ्याउने, सालनाल बिर्सजन गर्ने ट्यांकी र पर्खाल निर्माण जस्ता अत्यावश्यक पूर्वाधार समेटेका थिएनन्।

यस्तै ठेकेदारले सिँढीमुनिको भागमा शौचालय निर्माण, झ्यालमा जाली, गर्भवतीले प्रयोग गर्ने शौचालयमा ‘कम्भर्ट’ राख्नुपर्नेमा अटेर गरी ‘प्यान’ राखेको उनले सुनाए। ‘बर्थिङ सेन्टरलाई के–के आवश्यक पर्छ भन्ने स्वास्थ्यकर्मीलाई बढी जानकारी हुन्छ होला, तर प्राविधिक आएर आफ्नै तरिकाले स्टिमेट गराएर जानुभयो’, साईले थपे, ‘स्टिमेट गराउँदा स्वास्थ्यकर्मीसँग कत्ति पनि समन्वय भएन, धेरै पूर्वाधार स्टिमेटमै छुटाइयो, स्टिमेटमा समेटिएका कतिपय पूर्वाधार नै बनाइएको छैन।’ गाउँपालिकाले उक्त ठेकेदार कम्पनीलाई भवन निर्माणवापतको रकम भुक्तानी गरिसकेको बताइएको छ।

प्राविधिकले पहिलो स्टिमेटमा छुटाएका पूर्वाधार निर्माणका लागि गाउँपालिकाले पुनः दोस्रो ठेकेदारलाई जिम्मा दिएको छ।

गाउँपालिकाका सब–ओभरसियर युवराज बस्नेतका अनुसार मेनुका निर्माण सेवा नामक ठेकेदार कम्पनीले १० लाख रूपैयाँको लागतमा बर्थिङ सेन्टरको बाँकी पूर्वाधार निर्माण कार्य गरिरहेको छ।

उक्त ठेकेदार कम्पनीले पर्खाल, मूलगेट, च्यानलगेट, सुत्केरी कक्षमा टायल बिछ्याउने, सालनाल गाड्ने ट्यांकी निर्माण, फोहोर जलाउने खाडललगायतका पूर्वाधार बनाउन सुरु गरेको छ।

राप्ती सोनारी गाउँपालिका ६ का वडाध्यक्ष लवराज खरेलले बर्थिङ सेन्टरको बाँकी पूर्वाधार बन्ने क्रम चलिरहेको बताए। ‘बर्थिङ सेन्टर बनाउने बजेट र ठेक्का लगाउने सबै काम गाउँपालिकाले गरेको हो, हाम्रो काम त अनुगमन गर्ने मात्रै हो’, उनले भने, ‘त्यतिबेला आवश्यक सबै पूर्वाधार तयार गरेर उद्घाटन गरेको भए धेरै राम्रो हुन्थ्यो, वडाका गर्भवतीले सेवा पाउँथे, काम अधुरो गरिँदा उद्घाटन भएको भवनले समयमै सेवा दिन सकेन।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बजेट अपुग हुने भएपछि पहिलो स्टिमेटमा बर्थिङ सेन्टरलाई चाहिने पूर्वाधार छुटेको र पुनः १० लाख रूपैयाँ थपेर निर्माण कार्य चलिरहेको बताए।

ठेकेदारले इमानदारीपूर्वक काम गरेको पनि उनले जिकिर गरे। ‘त्यतिबेला अस्थायी प्रकृतिको बर्थिङ सेन्टर चलाउने कुरा भएअनुसार कम बजेटको स्टिमेट गरिएको हो, भवन बनिसकेपछि अपुग पूर्वाधार बनाउन बजेट थपेका हौं’, देवकोटाले भने।

प्रकाशित: ६ मंसिर २०८० ०३:०३ बुधबार

सुत्केरी हुन अन्यत्रै जान्छन् महिला